लघुकथा : दुई पाइलट
फरक सोच र बिचार भएका, फरक बाताबरण र संस्कारमा हुर्के बढेका महिला र पुरुषले एकीकरण हुने निर्णय गरे। उनीहरुबिच मागी बिवाह सम्पन्न भयो।
उनीहरुले आफुहरुलाई एउटै रथका दुई पाङ्ग्राका रुपमा होइन कि एउटै प्लेनका दुई पाइलटका रुपमा घोषित गरे।
बिवाह गरेको एक डेढ बर्षसम्म त उनीहरुको वैवाहिक जीवन राम्रैसँग चल्दै थियो। तर बिस्तारै उनीहरुबिच खटपट शुरु भयो। शंका, उपशंका झागिँदै गयो। उनीहरु एक अर्काको कमी कमजोरी केलाउन मरिहत्ते गरेर लागि पर्न थाले। उनीहरु कहिले काहिँ त तलै झरेर भएपनि एक अर्कामाथी खनिने गर्दथे। श्रीमानले बेला बेलामा धम्की दिँदै बजार पनि पिट्थे – ” त्यसले छाडेर गए अर्की आउन तयार भएर बसेकी छ।’
म नै यो घरको अधिकार प्राप्त ब्यक्ति हुँ। ” यहाँ सबै जना मेरो मर्जीमा अनुसार चल्नुपर्छ, नत्र छोडेर गए हुन्छ। मलाइ घाँडो भो। यस्तै हो भने अब एकै ठाउँमा बस्न सकिँदैन।” महिला अफ्ट्यारोमा परिन्। श्रीमानसँग एकै ठाउँमा बस्ने कि छोड्ने दुविधा भयो। उनी पनि माइती पक्षसँगको भेटघाट र सरसल्लाहमा केही समय ब्यस्त भइन्।
उनीहरुको घर झगडा मिलाउन छरछिमेकीहरु पनि लागि परे। कसैले मिलेर बस्न आग्रह गरे त कतिपयले छुटिएकै राम्रो भन्ने सल्लाह दिए। आफूलाई अलग हुन बाध्य बनाए। आफ्नो भागको आधा अंश लिएरै छाड्ने चुनौती महिलाले दिइन्। उता उनका श्रीमान सकेसम्मको थुर्त्याइ प्रयोग गरि आफ्नो बिरासत जोगाउन पट्टी लागि रहे। उनीहरुबीच धेरै पटक पानी बाराबारको स्थिति पनि आयो।
उखान टुक्कामा माहिर उनी बेला बेला उखान टुक्काले नै प्रहार गर्दथे -“बोकाले दाँही हुने भए गोरु किन चाहिन्थ्यो?” उनको आक्रोश थामी नसक्नुको हुन्थ्यो। उनको भनाइ थियो- ” हिजो आएर आजै ठूलो भाग खोज्ने?”
उनीहरु बीच ठाकठुक चलेको धेरै भयो तर हार्ने गोरुको छेर्ने दाउ मात्र भइरहेकोछ। उनीहरुको रडाको देख्ने छर छिमेकीहरु भने आजित र लाजले भुतुक्कै भएका छन्। यस कथाका पात्रहरु काल्पनिक हुन्। तर कथा भने नेकपाको रडाकोसँग मिल्न गएको छ। यसलाई संयोग मात्र मानिने छैन। यो नियत बस नै रचिएको सत्ता र स्वार्थको लडाइँ हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment