नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुस्ः अर्थमन्त्री पौडेल

डिसी नेपाल
१५ मंसिर २०७७ २०:३६
20
Shares

ललितपुर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गोदावरी नगरपालिका–११ चापागाउँमा १५ श्ययाको आधारभूत अस्पतालको शिलान्यास गरेका छन्। अस्पताल निर्माणका लागि सङ्घीय सरकारले १८ करोड बजेट विनियोजन गरेको छ।

सो अवसरमा अर्थमन्त्री पौडेलले भने, “तोकिएको समय अगावै गुणस्तरीय अस्पताल निर्माण गरेर नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गराउनुहोस् । अस्पताल निर्माणका लागि सङ्घले बजेट अभाव हुन दिने छैन।”

सरकारले एकैसाथ मुलुकका ३९६ पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने कुरा अघि बढाउँदा आज लगभग तीन सय पालिकामा सो किसिमको अस्पताल शिलान्यास सम्पन्न भइसकेको बताउँदै उनले यसका लागि सरकारले कूल ५७ अर्ब ९५ करोड ११ लाख बजेट विनियोजन गरेको जानकारी दिए।

मन्त्री पौडेलले मुलुकका सातै प्रदेशमा ५०–५० शय्याका सरुवा रोग अस्पताल निर्माण गर्न आठ–आठ करोड बजेट छुट्टयाइसकिएको उल्लेख गर्दै कोभिड–१९ महामारीले मुलुकको विकासमा पुर्याएको असरलाई मध्यनजर गरेर सरकारले बेरोजगार जनतालाई रोजगारी सिर्जना गर्नाका साथै उत्पादन र आर्थिक उपार्जनमा समेत जोड दिने बताएका छन्।

ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य नवराज सिलवालले जीर्ण अवस्थामा रहेका टीकाभैरव, चापागाउँ र सातदोबाटो गोदावरी सडक निर्माणमा सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभा सदस्य राजकाजी महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी भौगोलिक हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका रहेको हुँदा सरकारले बजेट विनियोजन गर्दा भूगोलको हिसाबमा गर्नुपर्नेमा जोड दिँदै बोलपत्र भइसकेका टीकाभैरव, चापागाउँ र सातदोबाटो गोदावरी सडकको मुआब्जा जनतालाई दिन नसक्दा मर्मत, निर्माण र विस्तारको काम लथालिङ्ग अवस्थामा रहेको बताए।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय चेतनाथ सञ्जेल र लालकुमारी पुन, नेकपाका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, संविधानसभा सदस्य सशीला नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालको सहभागिता थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *