मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा MBS को परीक्षा स्थगित

डिसी नेपाल
१५ साउन २०८३ ८:४७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले मधेश प्रदेश अन्तर्गतका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तह (MBS) को MKT ५११: मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा स्थगित गरेको छ। महाशाखाले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै विशेष परिस्थितिका कारण ती परीक्षा केन्द्रहरूमा मात्रै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ।

त्रिविका अनुसार स्थगित गरिएको विषयको नयाँ परीक्षा तालिका पछि छुट्टै प्रकाशित गरिनेछ। मधेश प्रदेशका जनकपुर, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लामा रहेका ११ वटा तोकिएका परीक्षा केन्द्रहरूमा मात्र यो निर्णय लागू हुनेछ।

जसमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस (सिरहा), जे. एस. मुरारका बहुमुखी क्याम्पस (लहान), श्री महेन्द्रनारायण निधि बहुमुखी क्याम्पस (राजविराज), नेशनल पिपुल कलेज (कञ्चनरूप–८, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गौरिशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (सिमरा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) का परीक्षा केन्द्रहरू रहेका छन्।

उल्लेखनीय छ कि अन्य सम्पूर्ण परीक्षा केन्द्रहरूमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने त्रिविले स्पष्ट पारेको छ। त्रिविले सम्बन्धित विद्यार्थीहरूलाई आधिकारिक सूचना नियमित रूपमा हेर्न, नयाँ परीक्षा तालिकाबारे जानकारी लिन तथा अन्य केन्द्रमा परीक्षा दिने विद्यार्थीहरूलाई तोकिएको समयमै आआफ्नो परीक्षा केन्द्रमा उपस्थित हुन अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *