उद्यमी कर्जाका लागि व्याज अनुदान सम्झौता

डिसी नेपाल
१७ मंसिर २०७७ २२:२७
40
Shares

विदुर । नुवाकोटको तादी गाउँपालिकाका उद्यमी व्यवसायीका लागि उद्यमशील कर्जाका लागि व्याज अनुदानसम्बन्धी सम्झौता भएको छ । गाउँपालिका, कृषि विकास बैंक खरानीटार शाखा र नुवाकोट उद्योग वाणिज्य सङ्घले सो सम्झौतामा आज हस्ताक्षर गरेका छन् ।

गाउँपालिकाको सिफारिसमा बैंकले लगानी गर्ने तथा लगानी गरिएका उद्यमीलाई गाउँपालिका र सङ्घले प्राविधिक सहयोग गर्नेगरी आज सम्झौतामा हस्ताक्षर गरिएको गाउँपालिकाका प्रमुख नारायण पाण्डेले जानकारी दिए।

उनका अनुसार व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोड, शिक्षित युवा स्वरोजगार कर्जा रु सात लाख, विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा रु १० लाख, महिला उद्यमशील कर्जा रु १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा रु १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा रु पाँच लाख र भूकम्प पीडितको निजी आवास निर्माण कर्जा रु तीन लाखसम्म लिन सकिने छ ।

व्यवसायीले तीनदेखि चार प्रतिशतसम्म तिर्नुपर्ने तथा सङ्घीय सरकारले पाँचदेखि छ प्रतिशतसम्म व्याज तिरिदिने छ । हाल नेपालका वाणिज्य बैंकको व्याजदर आठ देखि १० प्रतिशत रहेको जनाइएको छ ।

गाउँपालिका प्रमुख पाण्डेका अनुसार उद्यमशील कर्जाका लागि व्याज अनुदानको सम्झौताको समयअवधि भने नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्याविधिको कार्यान्वयन गरेसम्मका लागि हुने छ, उद्यमीका लागि कर्जा भुक्तानी समयावधि पाँच वर्षको हुने छ ।

सम्झौतामा गाउँपालिका प्रमुख पाण्डे, सङ्घका अध्यक्ष ताराबहादुर कार्की र बैंक खरानीटार शाखा प्रबन्धक राजु मिजारले हस्ताक्षर गरेका छन् ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *