चितवन राष्ट्रिय निकुञ्जमा हात्ती र गैँडाको बच्चा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन्। पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैँडाको बच्चा मरेका हुन्।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १ गते खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ। उक्त अर्ना खुल्ला खोरका झाडीमा देखिएको हो। विसं २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो।
तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो। कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले छ वटा अर्ना मरेका छन् । नौ वटा माउमध्ये सात पोथी र दुई भाले रहेको अधिकारीले जानकारी दिए।
यहाँ स्थानान्तरणपछि योसहित छ वटा बच्चा जन्मिएका छन्। गत वर्ष जन्मिएकामध्ये तीन भाले (पाडो) र एक पोथी (पाडी) छन्। यस वर्ष जन्मिएको दुवैको लिङ्ग पहिचान हुन सकेको छैन। खोर बढाएर यहाँ २० देखि ३० अर्ना पुर्याउने योजना निकुञ्जको छ। झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ। निकुञ्जमा सन् १९६० देखि नै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ। निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन। अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ।
यस्तै निकुञ्जको हात्ती तालीम तथा प्रजनन केन्द्र खोरसोरमा मङ्सिर १६ गते जन्मिएको हात्तीको बच्चा मरेको छ । सो छावीको रोगका कारण मरेको प्रारम्भिक अनुमान गरिएको छ। अधिकारीका अनुसार उक्त छावि मर्नुको विस्तृत अध्ययनका लागि नमूना सङ्कलन गरी भेटेनरी शाखामा पठाइएको छ।
यसैगरी शुक्रबार निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनको बिजुली घोल क्षेत्रमा करिब चार/पाँच महिनाका गैँडाको बच्चा मृत फेला परेको छ । उक्त बच्चा बाघको आक्रमणबाट मरेको बताइएको छ। बाघले ८० प्रतिशतभन्दा बढी खाएकाले लिङ्ग पहिचान गर्न नसकिएका अधिकारीले बताए। योसहित चालु आर्थिक वर्षमा १८ वटा गैँडा निकुञ्जले गुमाउनु परेको छ । त्यसमध्ये १४ वटा प्राकृतिक कारणले मरेका हुन् भने चार वटा चोरीशिकारीले मारेका हुन्।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment