‘मास्क लगाउनुस्, मोदीजीजस्तो नबन्नुस् !’
नरेन्द्र मोदी/फाइल तस्बीर
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मास्क लगाउन नमानेको एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ । यो भिडियो गुजरातको कुचमा भएको एक हस्तकला प्रदर्शनीको भएको बताइएको छ जहाँ मोदी मंगलबार सहभागी भएका थिए । ४५ सेकेण्डको यो भिडियोमा मोदी स्टलहरु हेर्दै हिँडिरहेका छन् । मोदीलाई घेरेर हिँडेका उनका सुरक्षाकर्मी र अधिकारीहरु सबैले मास्क लगाएका छन् तर मोदीले मास्क लगाएका छैनन् ।
Wear a mask. Don’t be like Modi ji. pic.twitter.com/lPxdTEdZiI
— AAP (@AamAadmiParty) December 17, 2020
भिडियोमा मोदी एउटा स्टलमा रोकिएका छन् । यो स्टलमा परम्परागत गुजराती कपडाको साथमा परम्परागत डिजाइन भएको मास्क पनि बेचिएको छ । पसलेले मोदीलाई पनि एउटा मास्क दिँदै मास्क लगाउन आग्रह गर्छन् तर मोदीले अस्वीकार गर्छन् । मास्क लगाउन अस्वीकार गरेर मोदीले अर्कै कपडा हेर्न थाल्छन् त्यसको केही बेरमा उनी त्यहाँबाट हिँड्छन् ।
यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । यो भिडियोलाई लिएर सामाजिक संजाल प्रयोगकर्ता र विपक्षीहरुले मोदीलाई गलत उदाहरण पेश गरेको भन्दै आलोचना गरेका छन् । विश्वका अन्य नेताहरुजस्तै मोदीले पनि महामारीको सुरुवातदेखि नै जनतालाई मास्क लगाउन आग्रह गरिरहेका छन् । उनले आफ्नो रेडियो कार्यक्रममा पनि मास्क लगाउन आग्रह गरेका थिए र यसअघि आफ्ना कैयौं कार्यक्रमहरु यहाँसम्म कि भिडियो कन्फरेन्समा पनि उनले मास्क लगाएर उपस्थिति जनाएका थिए । आम आदमी पार्टीले यो भिडियो शेयर गर्दै ‘मास्क लगाउनुस्, मोदीजीजस्तो नबन्नुस्’ भनेको छ ।







डिसी नेपाल








Facebook Comment