रुसी विपक्षी नेता नभाल्नीले रुसी एजेन्टलाई झुक्याएर आफ्नो हत्या योजनाबारे खुलासा गरे
काठमाडौं। रुसी विपक्षी नेता अलेक्सेइ नभाल्नीले रुसी एफएसबी स्टेट एजेन्टलाई झुक्याएर आफ्नो हत्याको लागि बनाइएको पूरा योजनाको पर्दाफास गरेका छन् । बीबीसीका अनुसार नभाल्नीले ती रुसी एजेन्टलाई झुक्याएर आफ्नो हत्या नोभिचोक एजेन्टबाट गराउन खोजिएको योजनाबारे खुलासा गरेका हुन् । बीबीसीका अनुसार नभाल्नीले एक रुसी सुरक्षा अधिकारीलाई ती एजेन्टलाई फोन गर्न लगाएका थिए ।
अनुसन्धान संस्था बिलिङक्याटका अनुसार फोनमा कोन्स्तानिन कुद्रयाव्तसेभ नामका ती एजेन्टले नोभिचोक (एक प्रकारको विषाक्त रासायनिक पदार्थ) नभाल्नीको भित्री वस्त्रमा राखिएको बताएका थिए । अहिले बर्लिनमा स्वास्थ्यलाभ गरिरहेका नभाल्नीले लामो फोन वार्ता युट्युबमा पोस्ट गरेका छन् । गएको अगष्टमा उडिरहेको एक रुसी जहाजमा उनी विषको प्रभावले ढलेका थिए । जुन घटनामा उनको झण्डै ज्यान गएको थियो ।
बिलिङक्याटका अनुसार ती एजेन्ट कुद्रयाव्तसेभलाई गरिएको फोन रुसको संघीय सुरक्षा सेवा (एफएसबी)को ल्याण्डलाइनबाट आएको देखिने गरी सेट गरिएको थियो । कुराकानीमा नभाल्नीले एक बरिष्ठ सुरक्षा अधिकारी बनेर कुरा गरेका थिए जसले नभाल्नीलाई मार्ने एफएसबी अपरेशनको पूरा विवरण मागेका थिए । कुद्रयाव्तसेभले जहाज उडाइरहेका पाइलटको द्रूत निर्णय र साइबेरियाको ओम्स्कको मेडिकल टिम नभाल्नीलाई मार्ने योजना सफल नहुनुको कारण भएको बताएका थिए ।







डिसी नेपाल








Facebook Comment