सभापोखरी गाउँपालिकामा आधारभूत अस्पताल शिलान्यास
सङ्खुवासभा । जिल्लाकाे सभापोखरी गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ। ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो। केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्याउन देशभर अस्पताल निर्माण तीव्र बनाएको छ।
शनिबार एक कार्यक्रमका बीच सभापोखरी गाउँपालिका–२ बगैँचामा पाँच शय्या क्षमताको आधारभूत अस्पताल शिलान्यास भएको हो। शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष रत्न सुब्बाले यो क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता चाँडै हट्ने बताए। अध्यक्ष सुब्बाले भने, “अब आफ्नै गाउँमा अस्पताल बनेपछि यहाँका नागरिकले सदरमुकाम खाँदबारी र अन्य जिल्ला जानुपर्ने बाध्यता हट्ने छ।”
केन्द्रीय सरकारको नीतिअनुसार गत मङ्सिर १५ गते शिलान्यास हुनुपर्ने भए पनि प्राविधिक कारणले सभापोखरी गाउँपालिकामा आधारभूत अस्पताल शिलान्यास गर्न ढिला भएको बताइएको छ । गाउँपालिका उपाध्यक्ष सीता दाहालले अस्पतालबाट ११ हजारभन्दा बढी नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने बताइन्। गाउँमै सुविधासम्पन्न अस्पताल बन्ने भएपछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन्। त्यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा निजी स्वास्थ्य संस्था तथा सदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता थियो।
सभापोखरीमा रु सात करोड ११ लाख ९८ हजार लागतमा भवन निर्माण हुनेछ । सङ्खुवासभाको खाँदबारी, पाँचखपन, धर्मदेवी, चैनपुर नगरपालिका र चिचिला गाउँपालिकामा केन्द्रीय सरकारको नीतिअनुसार नै गत मङ्सिर १५ गते अस्पताल शिलान्यास भइसकेका छन्।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment