मोदी गाउँपालिकाले बनायो आफ्नै लोगो

डिसी नेपाल
२० पुष २०७७ ७:५९
52
Shares

पर्वत । मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ। गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ। झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै पहिचानलाई अटाइएको छ।

लोगोमा नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख उत्पादन धानका बाला, गाउँपालिकाका विभिन्न जङ्गलमा पाइने आठ वटा गुँरास, प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे जस्तो देखिने पहाड र विभिन्न जडीबुटी पाइने जङ्गलसमेत लोगोमा रहेको छ।

त्यसैगरी गाउँपालिकाभित्र पाइने विभिन्न पक्षीको तस्वीर पनि लोगोमा रहेको छ भने गाउँपालिकाभित्र रहेका घरवास, झरनासमेत राखिएको छ। मोदी गाउँपालिकामा साना ठूला गरी ५० भन्दा बढी झरना छन्। त्यसैगरी लोगोको मध्य भागमा केरा र सुन्तलाका बोट राखिएको छ भने मोदी गाउँपालिकाको बीचमा बगिरहेको नदीको रूपमा रहेको मोदीखोलाको तस्वीर पनि अटाइएको छ। मोदी खोलामा आधा दर्जनको हाराहारीमा विद्युत् उत्पादनगृह सञ्चालन भइरहेका छन्।

त्यसैगरी मोदी खोला वारपार गर्न बनाइएका झोलुङ्गे पुलसमेत राखिएको छ। कृषि, पर्यटन, जलस्रोत र स्थानीय कला संस्कृति नै मोदी गाउँपालिकाको मुख्य पहिचान र विशेषता भएकाले ती सबै कुरालाई लोगोमा समावेश गरिएको निर्माणकर्ता कृष्णप्रसाद शर्माले जानकारी दिए। गाउँपालिकाले सूचना जारी गरी गाउँपालिकाको पहिचान झल्कने लोगो बनाएर पेश गर्न आह्वान गरेपछि सात वटा निवेदन परेकोमा वडा नं ७ राम्जा देउरालीका कृष्णप्रसाद शर्माले बनाएको लोगो उत्कृष्ट ठहरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार यही पुस १४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त लोगोलाई मोदी गाउँपालिकाको आधिकारिक लोगोको रूपमा प्रयोग गर्ने निर्णयसमेत गरेको क्षेत्रीले जानकारी दिए। पर्वतका सात स्थानीय तहमध्ये पहिलोपटक मोदी गाउँपालिकाले लोगो तयार गरेको हो। अन्य छ वटा नगरपालिकाले पनि प्रदेश र सङ्घीय सरकारकै लोगो प्रयोग गर्दै आइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *