एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुप-यो, नत्र तत्काल लागू गरौँ : ऊर्जामन्त्री रायमाझी

डिसी नेपाल
२ माघ २०७७ १४:१६

काठमाडौं। ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीको बारेमा तत्काल निर्णय गर्नुपर्ने बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लब लुम्बिनीले बुटवलमा गरेको कार्यक्रममा बोल्दै उनले विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसी लागु गर्ने वा नगर्ने बारे तत्काल निर्णय लिइहाल्नुपर्ने बताएका हुन्।

‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुप¥यो, नत्र लागू गर्नुप-यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन,’ उनले भने, ‘कुर्ने एक सेकेन्ड फुर्सद छैन।’ आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने बताउँदै उनले ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताए।

उनले एमसीसी राष्ट्रहितको विपरीत भय खारेज गरी राष्ट्रिय स्रोतबाट लाइन विस्तार गर्नुपर्नेमा जोड दिए। अबको एक वर्षमा उत्पादन हुने विद्युत् बेच्ने आधार तयार गर्नुपर्ने बताउँदै उनले ट्रान्समिटर लाइन विस्तार नभय दैनिक एक अर्बबराबरको घाटा लाग्न सक्ने बताए।

अर्को प्रसंगमा बोल्दै मन्त्री रायमाझीले जनयुद्धको लिगेसी प्रचण्डले छाडेको आरोप लगाएका छन्। उनले भने ‘लिगेसी भनेको के हो ? प्रचण्डसँग बसिरहँदा मात्रै हो ? अरु गर्दा जनयुद्ध लिगेसी नहुने ? वैद्य, विप्लव, भट्टराई, बादल, मणि थापाले प्रचण्डको साथ नदिँदा लिगेसी अब उहाँसँग छैन । बरु हामीतिर छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *