साँवाब्याज भुक्तानी गर्ने समय तीन महिना थप्न महासंघको आग्रह

डिसी नेपाल
६ माघ २०७७ ११:०५

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले साँवाब्याज भुक्तानी गर्न दिइएको समयअवधि थप तीन महिना बढाएर आउँदो चैतसम्म पु¥याउन राष्ट्र बैंकलाई आग्रह गरेको छ। कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत घोषित राहत प्याकेज कार्यान्वयनमा धेरै समस्या रहेको भन्दै सोमबार उद्योग व्यवसायीले गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी आफ्ना समस्या राखेका हुन्।

कतिपय बैंक तथा वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भएबमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी थप समस्यामा परेको उनीहरूको भनाइ छ ।

हाल अर्थतन्त्रमा केही सुधार भए पनि राष्ट्र बैंककै अध्ययनले ५४ प्रतिशत व्यवसाय मात्र सञ्चालनमा आएको देखाएको छ । सञ्चालनमा रहेका अधिकांश व्यवसाय पनि विशेषगरी बजारमा माग नबढेर अझै नगद अभाव झेलिरहेका छन् । त्यसैले पुस मसान्तसम्म दिइएको कर्जाको साँवाब्याज बुझाउने अवधि तीन महिना थप गरी चैत मसान्तसम्म पुर्याउन महासंघको माग छ ।

जवाफमा गभर्नर अधिकारीले उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउन राष्ट्र बैंक केन्द्रित रहेको भन्दै उपलब्ध पुर्नकर्जा लगायतका सुविधाका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातै प्रदेशमा जनचेतना मूलक कार्यक्रम लैजाने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *