मौद्रिक नीति तर्जुमाका लागि गभर्नर पौडेल पूर्वगभर्नरहरूसँग छलफल गर्दै

डिसी नेपाल
२१ असार २०८३ १५:५५

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाको तयारीमा जुटेको नेपाल राष्ट्र बैंकले आज पूर्वगभर्नरहरूसँग परामर्श गर्ने भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले दिउँसो ४ बजे पूर्वगभर्नरहरूलाई बैंकमा आमन्त्रण गरी छलफल गर्ने कार्यक्रम तय गरेका छन्।

वैदेशिक भ्रमणबाट फर्किएलगत्तै सक्रियता बढाएका गभर्नर पौडेलले मौद्रिक नीतिलाई अन्तिम रूप दिने कार्यलाई तीव्रता दिएका छन्। उनले असार १९ गते निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरी सुझावहरू लिइसकेका छन् भने सार्वजनिक बिदाको दिनसमेत सञ्चालक समितिको बैठक राखेर चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरिसकेका छन्।

गभर्नर पौडेल यसै साता भुटान भ्रमणमा जाँदैछन्। त्यसअघि नै मौद्रिक नीतिलाई तार्किक निष्कर्षमा पुर्‍याउन उनले सरोकारवालासँगको छलफललाई सघन बनाएका हुन्।

यसपटकको मौद्रिक नीतिमा गभर्नर पौडेलले केही महत्त्वपूर्ण नीतिगत परिवर्तन गर्ने संकेत गरेका छन्। प्राप्त जानकारीअनुसार यसपटक मौद्रिक नीतिमा नियामकीय व्यवस्थाहरूलाई समावेश गरिने छैन।

गभर्नर पौडेलले आन्तरिक तथा बाह्य अर्थतन्त्रको विश्लेषण, मौद्रिक नीतिको स्पष्ट कार्यदिशा र अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक मौद्रिक उपकरणहरूको प्रयोगमा मात्र यसपटकको नीतिलाई केन्द्रित गर्ने योजना बनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *