सेयर बजारमा बढ्दो आर्कषण : लगानीकर्ताको मनोविज्ञान सकारात्मक

उपेन्द्र शाही
१६ माघ २०७७ ७:०२

काठमाडाैं। पछिल्लो समय सेयर बजारको सम्बन्धमा जनमानसको चासो र सक्रियता बढ्दो छ। अर्थतन्त्रमा कोभिडको नकरात्मक असर र संकुचन लगायत राजनीतिक अनिश्चितताको माहोलकाबीच हाल नेप्से परिसूचक र कारोबार रकममा समेत उछाल आइरहेको छ।

आम लगानीकर्ता सेयर बजारमा लगानी गर्न उत्साहित भएका छन्। सेयर बजारमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिने लगानीकर्ताको मनोविज्ञान यतिबेला सकारात्मक देखिएको छ। विगत लामो समय उतार चढावकाबीच स्थिर देखिएको परिसूचक र कारोबार रकम पछिल्लो समयमा भने एकाएक ह्वात्तै बढिरहेको छ।

सेयर बजार परिसूचक र कारोबारो रकमले आजकाल हरेक दिनजसो नयाँ नयाँ कीर्तिमान कायम गरिरहेको छ। पछिल्लो एक महिनामा मात्रै नेप्से परिसूचक करिव साढे तीन सय अंकले बढेको छ। परिसूचक एक वर्ष पहिले १ हजार एक सय ७८ दशमलव २५ अंकमा थियो। एक वर्षमा करिव साढे १२ सय अंक बढेको नेप्से परिसूचक पछिल्लो ४ महिनामा मात्रै करिव १ हजार अंक बढेको छ।

खासगरी नयाँ अर्थमन्त्री विष्णु पौडेलको आगमन पश्चातको छोटो अवधिमा मात्रै नेप्से परिसूचक करिव ९ सय अंक बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबारसम्म नेप्से परिसूचक २ हजार ४ सय २५ दशमलव २९ अंकमा पुगेको छ। साताको अन्तिम कारोबारोको दिन बिहीबार मात्रै नौ अर्ब ८९ करोड ८४ लाख भन्दा धेरै रकमको सेयर कारोबारो भएको छ।

सेयर बजारमा बढ्दो आर्कषण 

आजकाल विशेषगरी बैंकहरुमा डिम्याट (हितग्राही) खाता खोल्नेको लामो लाइन देख्न सकिन्छ। सेयर बजार र  आइपीयो (प्राथामिक) सेयरमा सर्वसाधारणको भिड थामिनसक्नु छ। सेयर बजारमा सुक्ष्म तथा प्रारम्भिक ज्ञान ज्ञात भएका र नभएका दुवै किसीमाका मानिसहरुको सेयर बजारमा आर्कषण देखिन्छ।

भौतिकरुपमा भएका सेयरका प्रमाणपत्रलाई अभौतिकीकरण गर्ने प्रकिया डिम्याट हो। अर्थात बैँकमा पैसा जम्मा गर्न वा निकाल्न खोलिने खाता जस्तै सेयरको कारोबार गर्न खोलिने खाता डिम्याट खाता हो। डिम्याट खाता खोलिसकेपछि प्राइमरी तथा सेकेण्डरी बजारमा खरिद गरेका सेयर डिम्याट खातामा जम्मा हुन्छ।

प्राइमरी र सेकेण्डरी मार्केटमा सेयर कारोबार गर्न डिम्याट खाता अनिवार्य हुन्छ। त्यहिभएर आजकाल डिम्याटकोलागि मानिसहरुको थामी नसक्नु भीड हुने गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकल स्वामित्वमा रहेको सीडिएस एण्ड क्लेरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या २७ लाख ६ हजार पुगेको छ।

विगत तीन महिनामा मात्रै साढे ५ लाख मानिसहरुले डिम्याट खाता खोलेका छन्। गएको मंसिर महिनामा १ लाख १४ हजार २ सय ४३ जनाले डिम्याट खोलेका थिए। यस्तै पुस महिनामा त्यो भन्दा झण्डै दोब्बर २ लाख १५ हजार ६ सय ३९ जनाले डिम्याट खोलेका छन् भने यो महिनामा बिहिबारसम्म पौने २ लाखले डिम्याट खोलेको प्रवक्ता न्यौपानेले बताए।

सेयर बजार बढ्नुमा धेरै हदसम्म कोभिडका कारण सिर्जित परिस्थिति रहेको स्टक ब्रोकर प्रसाद रिमाल बताउँछन्। विश्वव्यापी संकट बनेको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गर-याे।भाइरस संक्रमण त्रासका कारण धेरै व्यवसाय सञ्चालनमा आउन सकेनन्।

पछिल्लो समय धेरै कम्पनीहरूको आईपिओ आउने क्रम जारी रहेको र डिम्याट खाता खोल्ने डिपी हरूका शाखाहरू गाउँ गाउँमा पुगेकोले पनि डिम्याट खोल्ने मानिसहरुको संख्या ह्वात्तै बढेको छ। आइपीयोमा लगानी गरेमा कम जोखिम र बढी मुनाफा हुने देखेर सर्वसाधारणको आर्कषण बढेको सेयर बजारका जानकारहरु बताउँछन्।

यस्तै डटपेन र डायरी बोकेर, ब्रोकर, मर्चेन्ट र बैंकरकोमा धाउनु पर्ने समयको अन्त्य भइसेकको छ। नयाँ प्रबिधि र पद्धति अनुरूप घरमा बसी बसी अनलाईन मार्फत सेयर किनबेच गर्न सकिने भएकोले पनि डिम्याट खोल्नेको संख्या उल्लेख्ये बढेको छ। प्रवक्ता न्यौपानेले सेयर बजारमा नयाँ लगानीकर्ता थपिनु निकै सकारात्मक रहेको र यसले बजारलाई थप सशक्त बनाउने बताए।

यसकारण बढिरहेको छ सेयर बजार

नेप्से परिसूचक दोहोरो अंकले बढ्नु र कारोबार रकममा समेत उछाल आउनुलाई विभिन्न दृष्टिकोणबाट व्याख्या र विश्लेषण भइरहेका छन्। अर्थविद रघुबीर विष्टका अनुसार सेयर बजारमा सबैभन्दा महत्वपूर्ण पक्ष लगानीकर्ताको मनोविज्ञान हो। यतिबेला आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक देखिएको छ। उनले भने, “नेप्सेमा आएको उछाल स्वभाविक र एकदमै सकारात्मक हो। प्रतिकुल अर्थतन्त्रको अवस्था, अर्थतन्त्रमा कोभिडको नकरात्मक असर र संकुचन लगायत राजनीतिक अनिश्चितताको माहोलकाबीच सेयर बजार बढ्नु निकै सकारात्मक छ।” यहीकारणले पनि अहिले बढीरहेको बजार स्थिर हुने उनको बुझाई छ।

सेयर बजारमा लगानीकर्ताको पहुँच बढ्नु, प्रक्रिया अनलाइनबाट सहज र सरल बनाइनुले लगानीकर्ताको आर्कषण बढेको छ। उनले भने, “कोभिडले गर्दा सबैजसो व्यापार व्यावसाय र उद्योगधन्दा लामो समयदेखि ठप्प जस्तै भयो। चलेका व्यवसाय पनि नकरात्मक अवस्थामा चलाउनु पर्ने बाध्यता थियो।उनीहरु पनि सेयर बजार तिर लागेको देखिन्छ। सेयर बजार बढ्नुको एउटा अर्को प्रमुख कारण यसको फुल डिजिटलाइजेसन हो। यसका करिव २७ लाख ग्राहक भइसकेका छन्। यसकै सकारात्मक पक्ष हामीले सेयर बजारमा देखिरहेको माग र व्यापारलाई लिन सकिन्छ।”

एक करोड भन्दा बढी नेपाली नागरिकसँग बैंक खाता भएको भन्दै उनले करिव ३० प्रतिशत लगानीकर्तामात्रै  सेयर बजारमा जोडिएका बताए। यदि एक करोड नागरिक नै सेयर बजारमा जोडिने हो भने सेयर बजारले ५ हजारको विन्दु पनि पार गर्न सक्ने उनको बुझाई छ।

बजार प्रतिस्पर्धी हुन खोजेको देखिन्छ। यो निरन्तर बढ्न सक्ने आश गर्न सकिन्छ। उनले भने,  “यो लगानीको असर हो। बढी  भन्दा  बढी लगानीकर्ता आउनु भनेको प्रतिस्पर्धा पनि बढ्नु हो। सेयर बजारमा पारर्दशिता बढेको छ। आउने दिन अझ बढी स्रोत र साधनको केन्द्रबिन्दु रहने छ। अहिलेको अवस्थामा अर्थतन्त्रको लागि सकारात्मक र आशाको केन्द्र भनेको सेयर बजार हो।”

सेयर बजारका लगानीकर्ताले नरुचाएका भनिएका अर्थमन्त्रीको डा. युवाराज खतिवडाको बर्हिगमन र नयाँ अर्थमन्त्रीको नियुक्तिलाई पनि बजार बढ्नुको कारण मानिएको छ।

लामो समयदेखि सेयर बजार सिन्डिकेट र कालो बजारीको बिगबिगीको शिकार बनेको भन्दै उनले सेयर बजारमा स्वस्थ प्रतिस्पर्धा र नियमन भने अनिवार्य रहेको बताए।

सेयर बजार बढ्नुमा धेरै हदसम्म कोभिडका कारण सिर्जित परिस्थिति रहेको स्टक ब्रोकर प्रसाद रिमाल बताउँछन्। विश्वव्यापी संकट बनेको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गर्यो। उनले भने “भाइरस संक्रमण त्रासका कारण धेरै व्यवसाय सञ्चालनमा आउन सकेनन्।

एकदम कम व्यवसाय सञ्चालनमा आए त्यो पनि लामो समयसम्म। समस्या बढ्दै जाने भएपछि सानादेखि ठूला व्यवसायीहरु सेयर बजार तिर मोडिए। उनीहरुलाई बढ्दो तरलताले उत्तिकै साथ दिएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता धेरै भएपछि व्याजदर कम भयो। तत्काल लगानी गर्ने अन्य क्षेत्र संकुचित भएका अवस्थामा लोन लियर सेयर बजारमा लगानी गर्नेको संख्या बढ्यो।”

यस्तै यो बीचमा केही नीतिगतरुपमा पनि सुधार आएको उनले बताए। नेपालको सेयर मार्केट धेरै अदसम्म बोनस वेरिन्टेड हुन्छ। राष्ट्र बैंकले ल्याएको मनिटरी पोलिसीमा लगानीकर्ताको हितमा व्यवस्था गरिएको र व्यवसायीलाई कर्जा लिन सहज हुने व्यवस्था गरिएको छ।

उनले पछिल्लो समय लागु भएको ब्रोकर कमिशन सम्बन्धी नियम र टी प्लस टु अर्थात कारोबार छिटो हुने नियम आउनु लगाएतका कारण सेयर बजारमा निरन्तर वृद्धि भइरहेको बताए।

लगानीकर्ताहरु सेयर बजार तिर आर्कर्षित भए। लगानीकर्ताको सहज पहुँचको नतिजा पनि बजार बढ्नु हो। खासगरी लगानीकर्ताहरुको आर्कषणमा माइक्रो फाइन्यान्स, इन्सोरेन्स कम्पनीहरु, गैरसरकारी संस्थाहरुमा बढि देखिएको र बैंकिङ क्षेत्रमा कमनै देखिएको उनको भनाइ छ।

नेप्सेका प्रवक्ता हरि पराजुलीका अनुसार सेयर बजारमा उछाल आउनुको प्रमुख कारण सेयर बजारमा बढ्दो डिजिटलाइजेसन हो। उनले भने, “हाल ५० वटा ब्रोकर अफिसहरु र ४२ शाखाहरु गरी ९२ वटा सेयर ब्रोकर सञ्चालनमा छन्। पछिल्लो समय अनलाइन सिस्टममार्फत लगानीकर्ता जोडिने क्रम बढ्दो छ। जसकारण लगानीकर्ताको पहुँच बढ्दो छ र सेयर बजारमा आर्कषण पनि। मुख्यतः बजार खुलेको बेला सेयर किन्ने र बेच्ने काम हुन्छ। तर सेयर किन्ने र बेच्ने निर्णय लिनु भन्दा पहिले आवश्यक पर्ने डाटा, सूचना, ट्रिक्स, जानकारी जस्ता पर्दा पछाडिका कामहरू अहिलेको अवस्थामा घरमा बसिबसी गर्न सकिन्छ। त्यसैले हाल सुगम-दुर्गम, देश-विदेश सबै ठाउँबाट सेयरमा लगानी गर्न सक्ने वातावरण बनेको छ।”

उनले बजारको हल्लाको भरमा लगानीकर्ताले लगानी गर्न नहुने सुझाव दिएका छन्। लगानीकर्ताले कम्पनीहरुको विश्लेषण गरी लगानी रणनीति बनाउनु पर्ने बताउँदै उनले आवेग र उत्तेजनामा भन्दा पनि विवेकपूर्ण निर्णय लिन सक्नुपर्ने बताए।

‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४’ बाट नेपाल धितोपत्र बोर्डले वास्तविक लगानीकर्ताको हीतमा काम गर्न खाजेको देखिएको विश्लेषकहरु बताउँछन्।

नयाँ निर्देशिकाले सबै आवेदकलाई समानुपातिक रुपमा १० ले भाग जाने अंकमा सेयर बाँडफाँड गर्नुपर्ने र सेयर अपुग भएमा मात्र गोलाप्रथा गर्नुपर्ने व्यवस्थालगाएतका लगानीमा आर्कषण बढाउने महत्वपूर्ण नीति अपनाएको थियो। यस्तै पछिल्लो समय सेयर बजारका लगानीकर्ताले नरुचाएका भनिएका अर्थमन्त्रीको डा. युवाराज खतिवडाको बर्हिगमन र नयाँ अर्थमन्त्रीको नियुक्तिलाई पनि बजार बढ्नुको कारण मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *