बीमालाई थप परिष्कृत र मर्यादित बनाइन्छः अध्यक्ष सिलवाल

डिसी नेपाल
२३ माघ २०७७ १९:३०

काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले देशमा विस्तारित हुँदै गएको बीमा व्यवसायलाई थप परिष्कृत, मर्यादित र नागरिकका बीचमा पुर्याइने प्रतिबद्धता व्यक्त भएको छ ।

उनले आम नागरिकको भरोसा बढाउँदै बीमा कम्पनीलाई सोहीअनुसार अगाडि बढाउन आफूले दिलोज्यान दिएर लागिपर्ने बताए । समितिको कार्यालयमा आज पदबहालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रमा रहेका विृकति तथा विसंगतिलाई निर्मूल गर्ने र नागरिकमा थप भरोसा दिलाउने उल्लेख गरे ।

समितिलाई नियन्त्रकको काम गर्न बाध्य नबनाउन आग्रह गर्दै उनले कानून, नियम र विधिको परिधिमा रहेर आफनो व्यवसाय सञ्चालन गर्न आग्रह गरे । यस क्षेत्रमा धेरै समस्या रहेको भन्दै सो समस्या समाधान गर्नका लागि काम गर्ने र नियमकले दिने निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

बीमाको विस्तारका लागि के गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन अनुरोध गर्दै अध्यक्ष सिलवालले पहुँच विस्तार तथा कार्यक्रममा विविधता ल्याउन आग्रह गरे । आगामी दिनमा सबैले व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले पैसा भएकालाई भन्दा पनि झुपडीमा बस्ने गरिबले बीमा गर्न सक्ने वातावरण बनाउन आग्रह गरे ।

कार्यक्रममा बीमा अभिकर्ता सङ्घका अध्यक्ष नन्दप्रसाद तिवारीले आम बीमितको हितमा बीमा समिति खरोरुपमा उत्रनुपर्ने बताए । उनले यस क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति रोक्नसमेत आग्रह गरे। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *