प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

डिसी नेपाल
१ फागुन २०७७ १५:१६

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्। लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यो केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ।

तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन्।

केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ भन्दै आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए। कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस भन्ने आफ्नो शुभकामना रहेको उनले बताए।

उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने विश्वास व्यक्त गरे।

आयोजनाका निर्माणकर्ताहरुले आयोजना एकवर्ष भित्र सक्ने प्रतिवद्धता जनाएकोमा प्रसंशा गर्दै प्रधानमन्त्री ओलीले यसका लागि जेजस्तो सहयोग चाहिन्छ सरकारले पुरागर्ने बताए। उनले बुटवल ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि केबलकारले सघाउ पुुर्याउने बताए।

अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएको उल्लेख गर्दै यसबीचमा लुम्बिनी केबलकार रोलमोडल बन्न सकोस् भन्ने शुभकामना दिए।
मुख्यमन्त्री शंकर पोखरेलले विकास सबैका लागि भएको भन्दै आयोजनाबाट लुम्बिनी प्रदेशका आफूहरु सबै खुशी भएको बताए।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना शुरु गरेको बताए। उनले प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत् देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।

“मलाई लाग्छ यस्ता संरचनाहरु राष्ट्रका एवं स्थानीय नागरिकका आफ्नै सम्पत्ति हुन्। छोटै समयमा आज चन्द्रागिरि केबलकार काठमाडौँबासीको मात्र नभएर नेपाल भ्रमणमा आउने विदेशी विशिष्ट व्यक्तित्वहरुको पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ। यसले देशको अर्थतन्त्रका साथै स्थानीयको जीवनस्तर उकास्न पनि उत्तिकै योगदान गरको छ,” उनले भने।

आयोजनाका संस्थापक सदस्य रमेश शर्माले लामो समयको प्रतिक्षापछि आयोजनाले गति लिएकोमा खुशी व्यक्त गर्दै आयोजना समयमै पुरा गर्ने बताए।

यस आयोजनाप्रति बुटबल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिनाउ गाउँपालिकाका प्रमुखले पनि खुशी व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *