इरान मामिलामा छलफल गर्न युरोप र अमेरिकी कुटनीतिज्ञहरु सहमत
पेरिस। युरोपेली मुलुक र संयुक्तराज्य अमेरिकाका वरिष्ट कुटनीतिज्ञहरु इरान मामिलाका विषयमा बिहीबार छलफल गर्न सहमत भएका छन्। यो छलफल खासगरी इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताका विषयमा केन्द्रित हुनेछ।
फ्रान्सेली विदेश मन्त्री जाँ–येभ्स लि ड्रायनले जर्मन र बेलायती समकक्षीसँग पेरिसमा भेट्दै छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भिडियो कन्फरेन्सबाट सहभागिता जनाउने छन्।
जर्मन चान्सलर एन्जेला मर्केलले इरानी राष्ट्रपति हस्सन रौहानीसँग टेलिफोनमा कुरा गरी इरानले आफ्ना प्रतिबद्धता पूरा गर्नेतर्फ विशेष चासो राख्नु भएको मर्केलका प्रवक्ताले बताएका छन्।
विज्ञहरुले पश्चिमा मुलुक र इरानबीच सन् २०१५ मा सम्पन्न आणविक सम्झौतालाई बचाउन निकै कठिन रहेको बताएका छन्। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौता बमोजिम इरान प्रतिबद्ध नरहेको आरोप लगाउँदै उक्त सम्झौताबाट अमेरिका सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए।
तर राष्ट्रपति जो बाइडेन प्रशानसले उक्त आणविक सम्झौतामा पुनः प्रवेश गर्नेगरी तयारी गरेको जनाएको छ। तर इरानले आणविक कार्यक्रम स्थगित गरेमा इरानमाथि लागेका प्रतिबन्धहरु अमेरिकाले फुकुवा गर्ने पनि बताएको छ।
आगामी फेब्रुअरी २१ भित्र अमेरिकाले प्रतिबन्धहरु फुकुवा नगरे संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई इरानी आणविक कार्यक्रमको निरीक्षण गर्न नदिइने धम्की दिएको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा संघ (आइएइए) का प्रमुख राफेल ग्रस्सी आणविक केन्द्रहरुको निरीक्षणलाई निरन्तरता दिने उद्देश्यले इरानी अधिकारीहरुसँग वार्ताका लागि शनिबार तेहरान जाने छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इरानले आइएइएलाई पूर्ण सहयोग गर्नुपर्ने बताइका छन्।







डिसी नेपाल







Facebook Comment