काठमाडौंलाई पराजित गर्दै एपीएफ फाइनलमा

डिसी नेपाल
२७ फागुन २०७७ १७:३९
80
Shares

काठमाडौं। काठमाडौंमा जारी मेयर्स कप क्रिकेटको फाइनमा दुई विभागीय टिम पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन्। एपीएफले बिहीबार भएको खेलमा काठमाडौं मेयर ११ लाई ७ विकेटले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो। पुलिस क्लब यसअघि नै फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ।

मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेले।

शरदले अविजित रहदै ६१ रन बनाउँदा सन्दीप ६२ रनमा अविजित रहे। यस्तै शंकर रानाले ३१ रन जोड्दा भुवन कार्कीले ११ रन बनाए। पवन सर्राफ भने शून्य रनमा आउट भए।

काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो। काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए। यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए।

बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए। एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३–३ विकेट लिए।

यो जितसँगै एपीएफले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो। एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो। पुलिसले पनि ४ खेलमा ३ जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो।

पुलिस नेट रन रेटको आधारमा पुलिस भन्दा अघि रहेको थियो। पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *