युरेनियम धनी अमेरिकामा, बेच्न खोज्ने र दलाल प्रहरीको फन्दामा

डिसी नेपाल
२८ फागुन २०७७ २३:०२
5.0k
Shares

काठमाडौं। रामेछापका अम्बर लामाले आणविक भट्टीमा प्रयोग हुने रेडियोधर्मी धातु (युरेनियम) २० वर्षअघि नेपाल ल्याएका थिए। भारतको माइनहरूमा काम गर्ने लामाले २० वर्ष अघि युरेनियम ल्याएर बौद्धस्थित आफ्नै घरमा प्लाष्टिकको बट्टामा हालेर राखेका थिए।

उनले त्यहाँ युरेनियम छ भन्ने कुरा घरका कसैलाई पनि बताएका थिएनन्। जब उनी अमेरिका बस्न थाले त्यसपछि बुहारी जानुका तामाङलाई त्यहाँ युरोनियम भएको जानकारी दिए। बुहारी जानुकाले आफन्त जो औषधि पसल चलाएर बस्थे नारायणसिंह तामाङलाई बताइन्। उनै नारायणसिंहले यो बहुमूल्य रहेको र यसबाट धेरै पैसा आउछ भन्ने जानकारी दिएपछि दुवै मिलेर ग्राहक खोज्न थाले। तर ग्राहक भने प्रहरी परेपछि मात्रै उनीहरु पक्राउ परे।

आणविक भट्टीहरुमा मात्रै प्रयोग हुने यो युरोनियम काठमाडौंको बौद्धबाट विहीबार साँझ बरामद भयो। २२ करोड अमेरिकी डलर पर्ने भनिएको सो युरोनियम नेपालमा डेढ अर्ब रुपैंयामा बेच्न खोज्दा सूचान चुहिएर बरामद भएको थियो। परिणाम पनि २ किलो ९ सय ग्राम निकै ठूलो रहेको प्रहरीले जनाएको छ। २ किलो नौ सय ग्रामको सो युरेनियमको आणविक बम बनेमा आधा नेपाल नै खत्तम हुनसक्ने प्रहरीले दावी गर्यो। प्रहरीका अनुसार डेरामा लुकाएर राखेको युरेनियम विक्री गर्न ग्राहक खोज्नेक्रममा उनीहरूले बिचौलियालाई २ करोडसम्मको कमिसनको अफर गरेका थिए।

अन्तर्राष्ट्रिय बजारमा २२ अर्बमाथिको मूल्य आउने भए पनि जसले युरेनियम लुकाएर राखेका हुन् उनीहरू डेढ अर्बसम्म पाए बेच्न राजी भएपछि एक समूह ग्राहक खोज्दै हिँड्यो र सो सूचना महानगरीय प्रहरी कार्यालयका प्रहरी टोलीसम्म पुगेपछि बिहीबार सो टोलीले काठमाडौंको बौद्धमा रहेको एक घरमा प्लास्टिकको डब्बामा लुकाएर राखेको अवस्थामा युरेनियम बरामद गरेको थियो। त्यसअघि नै प्रहरीले नमुना परीक्षणका लागि भन्दै नाष्टमा परीक्षण गसिकेको थियो। ‘युरेनियम बेच्न ग्राहक खोज्दै एक समूह हिँडेको सूचना पच्छ्याउँदा हामी युरेनियमसम्म पुगेका हौँ,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरी बहादुर पालले भने।

अहिले प्रहरीले २ किलो पाँच सय ग्राम युरेनियमको कारोबार गरेको आरोपमा रामेछाप लिखु तामाकोसी–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौँ बौद्ध बस्ने रामेछाप लिखु तामाकोसी–५ घर भएकी ४० वर्षीय जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोसी–४ बस्ने २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले विष्फोटक पदार्थको कारोबारको आरोपमा म्याद लिएको छ।

एआइजी पालका अनुसार खुमलटारको नाष्टमा गरिएको परीक्षणमा प्रहरीले बरामद गरेको युरेनियम २३८ वर्गको रहेको पुष्टि भएको छ। उनले परिक्षणमा प्रशोधन नभएको युरेनियम भएको पक्का भएपछि सार्वजनिक गरिएको दावी गरे। उनले पहिलो चरणको परीक्षण रिपोर्ट आइसकेको र दोस्रो चरणको रिपोर्ट आइतबार आउने जानकारी दिए।

प्रशोधन भइसकेको युरेनियमलाई २३५ भनिन्छ । प्रहरी अनुसन्धानमा सो युरेनियम २० वर्षदेखि नेपालमा रहेको देखिन्छ। प्रहरीका अनुसार भारतमा काम गर्ने एक व्यक्तिले सो युरेनियम ल्याएर छोराको घरमा राखेका थिए। प्रहरीका अनुसार पक्राउ परेकी जानुका तामाङको ससुराले युरेनियम नेपाल ल्याएको देखिन्छ। उनको विवाह भएको २० वर्ष भएको र सो युरेनियम उनको विवाह अगाडिदेखि नै घरमा रहेको पक्राउ परेकी जानुकाले प्रहरीलाई खुलाएको पालले बताए।

‘जसले युरेनियम ल्याएको हो सो व्यक्ति भारतको माइनहरूमा काम गर्ने गरेको देखियो। अहिले उनी भारततिरै छन्,’ एआइजी पालले भने‘ ती व्यक्तिले २० वर्ष अगाडि नै युरेनियम नेपालमा ल्याएर प्लास्टिकमा पोको पारेर घरको माथिको कुनामा राखेको देखियो।’

२३८ पारमाणविक भार हुने यो धातुले लगातार ऊर्जावान् विकिरणहरू फ्याँकिरहने भएकाले यसको सीमित आयु हुने बताइन्छ। विकिरण फाली रहने भएकाले त्यसलाई सुरक्षित रूपमा राख्नुपर्ने भए पनि प्रहरीले त्यसलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ। नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको दाबी गरिए पनि हालसम्म प्रमाणित भएको छैन। युरेनियम कारोबारको प्रयास भएको र पक्राउ परेको घटना भने पहिलो भएको एआइजी पालले दाबी गरे।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५। प्राकृतिक रूपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ। एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुने वैज्ञानिकहरुको अध्ययनले देखाएको छ।

युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययनअनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम–२३५बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ। नेपालमा युरेनियम अन्वेषणको १९८० को दशकबाटै सुरु भए पनि अन्वेषण कार्यमा उल्लेखनीय प्रगति हुन सकेको छै।

प्रारम्भिक अनुसन्धानका क्रममा मकवानपुरको तीनभंगाले, बैतडी, बझाङको बगाबगर बागकोटमा पनि युरेनियम खानी भेटिएको थियो। उच्च हिमाली भेग, चुरे र महाभारत क्षेत्रमा युरेनियमको धेरै सम्भावना छ। युरेनियम भण्डारण जोखिमपूर्ण हुन्छ। नेपालको हिमाली क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र भएकाले नेपालमै युरेनियमको प्रशोधन, भण्डारण र प्रयोग जोखिमपूर्ण विशेष ध्यान दिनुपर्ने भूगर्भविद्हरुले सुझाव दिएका छन्। यसको निर्यात गर्न सकेमा नेपालको अर्थतन्त्रले ठूलो फड्को मार्ने विज्ञहरुले बताउँदै आएका छन्।

बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्यान्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्यान्ड र युक्रेनमा ३० प्रतिशत वा योभन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ। बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ। ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ। काजकास्तान, क्यानडा, अस्ट्रेलिया, नामिबिया, रसियालगायत मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.