संघीय सरकारको गलत काम प्रदेश र स्थानीय सरकारले दोहोर्याउन हुँदैन : सभापति थापा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय सरकारले गरेको गलत कामहरु प्रदेश र स्थानीय सरकारहरूले नगर्न आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ छलफल श्रृंखलाअन्तर्गत सुकुम्बासी समस्या सम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्याउन नहुने स्पष्ट सन्देश दिएका हुन्।
उनले सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने स्पष्ट पारे।
उनले डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिए। ‘कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्नु हुँदैन’, थापाले भने।
सभापति थापाले दशकौँदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्नेमा जोड दिए। वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्ने उनको धारणा थियो।
थापाले पार्टीले यस विषयमा छुट्टै टोली बनाएर अनुगमन र मूल्यांकन गरिरहेको जानकारी दिँदै ग्रिन टेवलको छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने पनि जानकारी दिए।
कांग्रेसले ‘ग्रीन टेबल’ कार्यक्रममार्फत नीति निर्माण र जनसरोकारका विषयमा खुला संवाद अघि बढाउन थालेको छ। पार्टीभित्र मात्रै सीमित रहने परम्परागत छलफलभन्दा फरक शैलीमा विज्ञ र सरोकारवालासँग प्रत्यक्ष बहस सुरु गरिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण पहलका रूपमा हेरिएको छ। राजनीतिक भाषणभन्दा समस्या समाधान केन्द्रित बहसमा जोड दिन खोजिएको काँग्रेसले जनाएको छ।







डिसी नेपाल







Facebook Comment