पाल्पाली चुकाउनीमा किन बढ्दैछ आकर्षण ?

डिसी नेपाल
३ चैत २०७७ १७:५१
600
Shares

तानसेन । पाल्पाको पहिचानको रुपमा विकसित हुँदै गएको चुकाउनीको प्रयोग बढ्न थालेको छ ।

बिस्तारै गर्मी बढ्दो क्रममा रहेकाले चुकाउनीको प्रयोग बढ्न थालेको हो । आलु र दहीको मिश्रणबाट बन्ने चुकाउनी एक प्रकारको स्वादिलो अचार हो । शहरका कतिपय भोजनालयमा पनि तपाईंले यो परिकार पाउनुहुनेछ । तर, पाल्पाको रैथाने स्वादले हाम्रो जिब्रो लोभ्याउँछ । एक पटक चाखेपछि मन अघाउँदैन ।

चुकाउनी के हो ?

चुकाउनी खासमा अचार हो । भात, चिउरा, रोटी आदिसँग खान सकिन्छ । चुकाउनी मात्र खाए पनि हुन्छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना, धनियाँको हरियो पातलाई प्रयोग गरेर तयार पारिने चुकाउनी धेरैले रुचाइएको खानामध्येको एक प्रमुख परिकार हो । यो अचार स्वादिलो मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । स्वादिलो र स्वस्थ्यकर भएकाले नै चुकाउनी पाल्पामा मात्र सीमित रहेन । शहरका भोजनालयले पनि आफ्नो मेनुमा यसलाई समेटिन थालेको छ । नेपाल बाहिर अर्थात विदेशी भान्सामा समेत अहिले चुकाउनी परिकार पाउन थालिएको पारखीहरु बताउँछन् ।

यतिबेला पाल्पाका धेरैजसो ठाउँमा आलु खनेर कृषकले थन्काएका छन् । जिल्लाकै बढी आलु उत्पादन हुने आलु पकेट क्षेत्रका रुपमा पहिचान बनाएको रामपुरमा यस वर्ष चार हजार टन आलु उत्पादन भएको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष दोब्बर आलु उत्पादन भएको छ । आलुबाट बन्ने विभिन्न परिकारमध्ये चुकाउनीको प्रयोग बढाइएको स्थानीयवासी बताउँछन् ।

कसरी बनाउने चुकाउनी ?

चुकाउनी बनाउन धेरै समय लाग्दैन, न त श्रम नै । हाम्रो भान्सामा दैनिक उपलब्ध हुने सामाग्रीबाट सहजै चुकाउनी बनाउन सकिन्छ । एक पटक देखेपछि जो कोहीले आफ्नै हातले चुकाउनी बनाउन सक्छन् । आलुलाई धेरै नगल्ने ढङ्गले उसिन्नुपर्छ । त्यसलाई स–सना टुक्रामा काट्ने । यसरी टुक्रा बनाएको आलुमा नुन राख्ने । काटेर टुक्रा बनाएको प्याज मिसाउने र त्यसपछि यसमा छोप लगाउनुपर्छ । छोपको लागि सिलाम वा तील पिँधेर उक्त आलुमा मिसाउनुपर्छ । तोरीको तेल तताउने र त्यसपछि त्यसमा केही मेथी फुराउने र आलुको माथिबाट राख्ने । त्यसैगरी रातो खुर्सानी र बेसार झानेर आलुमा खन्याउने ।

आलुमा ती सबै कुरालाई मजाले घोलेर दही मिसाइदिने । त्यसमाथि ताजा कागतीको रस चुहाउने । धनियाँको पातलाई माथिबाट छर्किने । यसरी चुकौनी तयार हुन्छ । यसलाई तपाईं आफ्नो मर्जी अनुसार भात, रोटी आदिसँग खान सक्नुहुने रामपुरका हुमा देवकोटाले जानकारी दिए।

पाल्पाका रैथाने नेवार समुदायको संस्कृतिबाट आएको खाना अहिले पाल्पाली खानाका रुपमा परिचित भएको जानकारहरुको भनाइ छ । नेवार समुदायले विवाह, व्रतबन्ध, पूजाआराधनालगायत शुभकार्य, धार्मिक कार्यमा अनिवार्य जस्तै प्रयोग गर्ने चुकाउनी स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण मानिने लेखक निर्मल श्रेष्ठले बताए । “सजिलै पाइने र सरल तरिकाबाट बनाउन सकिने भएकाले यसको प्रयोग सबैले गर्न थालेको छ”, उनले भने, “पहिले सदरमुकाम तानसेनमा बस्ने रैथाने नेवार समुदायले चाडपर्व र शुभकार्यका बेला अनिवार्य तयार पारिने चुकाउनी आजभोलि सबैले मन पराएका छन् ।”

जाडोमा केही कम बिक्री भए पनि गर्मीमा चुकाउनी सबैले खोज्ने गरेको होटेल व्यवसायीहरुको भनाइ छ । विशेषगरी पाल्पाको केराबारी तथा राम्दी क्षेत्रका होटेल व्यवसायीले चुकाउनीको व्यापार गर्दै आएको पाइन्छ । राम्दीको होटेलमा आउने अधिकांश ग्राहकले चुकाउनी खाने इच्छा राख्ने गरेको अमात्य रेष्टुरेन्टका सञ्चालक नन्दकिशोर अमात्यले बताए। उनले करीब २३ वर्षअघि देखि चुकाउनीको व्यापार गर्दै आएका छन्। राम्दी स्याङ्जा, पोखरा, चितवनतर्फ जाने सडक भएकाले अन्य जिल्लाका नागरिकले चुकाउनी चाख्छन् र मन पराउँछन् अनि यसको पहिचानलाई अन्यत्र फैलाउँछन् भन्ने उनको अनुभव छ । देशका अन्य भागमा नपाइने चुकाउनी पाल्पामा मात्र बेच्न पाएकामा व्यापारी नै गर्व महसुस गर्छन् ।

पाल्पाको राम्दीमा चुकाउनी पाइन्छ भन्ने थाहा पाएकाहरु चुकाउनी खानकै लागि त्यहाँ पुग्ने गरेको व्यवसायीको भनाइ छ । पाल्पाली ढाका, करुवालगायत विभिन्न पहिचान दिने वस्तुसँगै पाल्पाली खानाका रुपमा चुकाउनीको पहिचानसमेत छुट्टै छ ।

पवित्रा घिमिरे \रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *