फ्रान्समा कोरोना संक्रमित बढेपछि तेस्रो राष्ट्रिय लकडाउन घोषणा
काठमाडौं। फ्रान्समा कोभिड-१९ संक्रमितको संख्या अस्पतालले धान्न नसक्ने गरी बढ्न थालेपछि तेस्रोपटक राष्ट्रिय लकडाउनको घोषणा गरिएको छ।
सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि बन्द गरिएको छ । साथै साँझ सात बजेदेखि विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ।
गत शुक्रवार एकै दिनमा १ सय ४५ जना विरामी सघन उपचार कक्षमा थपिएका छन् । यो संख्या विगत पाँच महिनामा सबैभन्दा बढी हो। फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ३ सय भन्दा बढीको मृत्यु भएको छ।
योसँगै फ्रान्समा हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघिसकेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजार नाघिसकेको छ। त्यहाँ संक्रमण नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिसकिएको छ।
यसैगरी आगामी मंगलबारदेखि १० किलोमिटरभन्दा बढी यात्रा गर्नका लागि वैधानिक कारण देखाउनु पर्नेछ। फ्रान्समा थुप्रै प्रकारका कोरोना भाइरसका प्रजाति देखिनुका साथै युरोपेली संघले खोप अभियानलाई तीब्र बनाउन नसक्दा संक्रमण व्यापक बनेको छ।







डिसी नेपाल








Facebook Comment