देशभर आगलागीका घटना बढ्दाे, यो आर्थिक वर्षमा मात्रै ८६ जनाले ज्यान गुमाए

उपेन्द्र शाही
२३ चैत २०७७ ९:१३

काठमाडौं। बाँकेको नरैनापुर अहिले फेरि आगोको चपेटामा छ। नरैनापुर आगोको चपेटामा परेको यो पहिलो पटक भने होइन। नरैनापुरमा वर्षेनी आगलागी हुन्छ। धन जनको क्षति हुन्छ र पुनः फुसको छानोका घर बन्छन्।

यस गाउँपालिकाका धेरै जसो वस्तीमा गरिब तथा विपन्न परिवारको बाहुल्यता छ। त्यही घना वस्तीमा फुसको छानो भएका घरकै कारण आगलागीले वर्षेनि अनाहक ठूलो धन जनको क्षति हुँदै आएको छ।

फागुनदेखि यता मात्रै एउटै नरैनापुर गाउँपालिकाको विभिन्न ८ वटा ठाउँमा आगलागी भइसकेको छ। पछिल्लो पटक नरैनापुरको वडा नं ४ फोदावामा गत शनिबार दिउसो तीन बजे आगलागी भयो। एउटा गोठमा दूध तताउँदै गर्दा सल्किएको आगोले एकै छिनमा पूरै वस्तीलाई खरानी बनायो। वस्तीमा भएका करिव १ सय २० घर गोठ जल्दा ६९ घर पूर्णरुपमा नष्ट भए।

प्रयाप्त जनशक्ति र स्रोत साधन नभएका कारण आगो नियन्त्रण समयमा हुन सकेन्। उपलब्ध साधन, स्थानीय बासिन्दा, प्रहरी र ससस्त्र प्रहरीलाई आगो निभाउन करिव ५ घण्टा लाग्यो। त्यतिबेलासम्म आगलागीले बस्तीलाई सखाप पारी सकेको थियो।

यो वर्ष हिउँद याममा पानी नपर्दा ठूलो धन जनको क्षति भएको छ। उपत्यकाको काठमाडौं, ललितपुरलगायत देशका विभिन्न स्थान हिमाल, पहाड र तराईका जिल्लाहरुमा आगलागीका घटना बढिरहेका छन्। बाँके, ताप्लेजुङ, जुम्ला, सुर्खेत, मनाङलागाएत जिल्लाहरुमा यो वर्ष आगलागीका घटना बढी भएका छन्।

आर्थिक विपन्नता भएकै कारण यस समुदाय र क्षेत्रका मानिसले टीनको छानो भएको घर बनाउन सकेका छैनन्। जसकारण प्रत्येक वर्ष आगलागीको समस्याले पिरोली रहेका हुन्छन्। प्रत्येक वर्ष आगलागीका घटना हुन्छन्। संघ, प्रदेश र स्थानीय सरकार लगाएत विभिन्न संघ संस्थाहरुले केही नाना र खाना पनि दिन्छन्।

तर, उनीहरुले खोजेको टीनको छाना भएको घर कहीँ कतैबाट पाउँदैनन्। त्यसैले वर्षेनी आगलागीको समस्याले उनीहरुलाई सताउने गरेको छ। आगलागीले त्यस क्षेत्रका महिला र बालबालिका बढी जोखिममा छन भने प्रभावित पनि।

पटक पटक यस्ता समस्या आउने भए पनि समस्याको उचित समाधान खोज्न नसकिएका कारण यो समस्या दोहोरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही बताउँछन्।

यो समस्याको दीर्घकालीन समाधानको लागि संघ, प्रदेश र स्थानीय तह मिलेर वस्तीमा टीनको छाना लगाउन आवश्यक रहेको उनको भनाइ छ। उनले अब आउने बजेट र नीति तथा कार्यक्रममा गाउँपालिकाले प्राथामिकताका आधारमा टिनको छाना बनाउनने गरी कार्यक्रम ल्याउने बताए।

देशभर आगलागी बढ्दो, यो वर्ष मात्रै ८६ जनाले ज्यान गुमाए

सुक्खा मौसमसँगै देशभर आगलागीको घटना बढ्न थालेका छन्। वर्षेनी हुने आगलागीका घटनाबाट दलित र आर्थिक विपन्नता भएका बस्ती बढी जोखिममा र प्रभावित छन्। सुरक्षित घर नहुँदा त्यसको सबैभन्दा धेरै मारमा महिला तथा बालबालिका पर्दै आएका छन्।

तथ्यांक हेर्दा आगलागीमा परी मृत्यु हुने बालबालिकाको संख्या अधिक छ। विपद्बाट जोगिन र यस्ता घटना न्यूनिकरणका लागि पूर्व तयारी र सावधानी आवश्यक छ। यही पूर्व तयारी र सावधानी लगाएतका कुरामा ध्यान नदिँदा वर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ।

यो वर्ष हिउँद याममा पानी नपर्दा ठूलो धन जनको क्षति भएको छ। उपत्यकाको काठमाडौं, ललितपुरलगायत देशका विभिन्न स्थान हिमाल, पहाड र तराईका जिल्लाहरुमा आगलागीका घटना बढिरहेका छन्। बाँके, ताप्लेजुङ, जुम्ला, सुर्खेत, मनाङलागाएत जिल्लाहरुमा यो वर्ष आगलागीका घटना बढी भएका छन्।

आगलागीमा परी यो आर्थिक वर्षको हालसम्म ८६ जनाले ज्यान गुमाइसकेका छन्। यो आगलागीमा परी मृत्यु हुने संख्या आजसम्मकै धेरै हो। गृह मन्त्रालय अर्न्तगतकाे विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार हिमाल, पहाड र तराई सबै क्षेत्रमा आगलागीका घटना बढ्दो अवस्थामा छन्।

देशभर २ हजार ३ सय ८७ ठाउँमा आगलागी हुँदा ३ सय ६५ जना घाइते भएको महाशाखाका जनकराज दाहालले जानकारी दिए। यस्तै आगलागीमा परी १३ सय २ पशु चौपाया समेतको मृत्यु भएको छ।

‘देशभर आगलागीका घटना बढ्दो अवस्थामा छन्। गत वर्षभन्दा यो वर्ष आगलागीका घटनामा व्यापक वृद्धि भएको छ। यो वर्ष हिउँदमा वर्षा नभएका कारण पनि घटनामा वृद्धि भइरहेको छ। घटना न्यूनिकरणका लागि व्यापक जनचेतना र पूर्व तयारी आवश्यक छ,’ उनले भने।

आगलागीका घटना बढ्नुमा अव्यवस्थित विजुलीका पोल पनि कारक रहेको बताउँदै उनले ५० प्रतिशत भन्दा बढी आगलागीका घटना विद्युत सर्ट भएर हुने गरेको जानकारी दिए।

नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार आगलागीबाट १ हजार भन्दा बढी घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन्। आगलागीमा परी यो वर्ष मात्रै करिव साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवर बताउँछन्।

गत वर्ष पनि आगलागीबाट २ अर्ब बराबरको क्षति भएको थियो। विभिन्न ठाउँमा प्रहरीले ११ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ। घटना न्यूनिकरणका लागि पूर्व सावधानी र व्यापक जनचेतना आवश्यक रहेको उनको भनाइ छ। उनले घटना भइसके पछिको लागि दक्ष जनशक्ति र आधुनिक उपकरणहरुको परिचालन आवश्यक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *