१९८४ मा चोरिएको लक्ष्मीनारायणको मूर्ति स्वेदश फिर्ता

डिसी नेपाल
२ वैशाख २०७८ १८:४७

काठमाडौं। नेपालबाट चोरिएर सात समुद्रपारी अमेरिका पुगेका देवदेवीका मूर्ति नेपाल फर्काइएका छन्। अमेरिकाको डालस पुर्याइएको बहुमूल्य मूर्ति बिहीबार काठमाडौं ल्याइएको छ। पत्रकार सम्मेलन गरी मूर्ति सार्वजनिकसमेत गरिएको छ।

पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा चोरी भएको लक्ष्मीनारायण (वासुदेव कमलाजा)को मूर्ति बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको हो। करीब ८०० देखि १ हजार वर्षअघि स्थापना गरिएको मूर्तिको दाहिनेतिरको आधा भागमा नारायणको आकृति छ भने, देब्रेतिरको आधा भागमा लक्ष्मीको। दाहिने खुट्टामुनि नारायणको वाहन गरुड छ भने, देब्रे खुट्टामा लक्ष्मीको वाहन कछुवा।

अलिपछि यो मूर्ति अमेरिकामा देखियो। मूल्यवान् मूर्ति र कलाकृति लिलाम गर्ने अन्तर्राष्ट्रिय संस्था सदबिजले सन् १९९० मा आफ्नो ‘क्याटलग’मा लक्ष्मीनारायणको मूर्ति बेचबिखनका लागि तयार भएको जानकारी छाप्यो। मोल ३०–४० हजार अमेरिकी डलर मूल्य तोक्यो। मूर्ति बिक्री भयो। त्यसपछि मूर्ति कहाँ पुग्यो, अत्तोपत्तो भएन।

पटको टोलकै दिलेन्द्र श्रेष्ठले २०१० मा ‘डालस म्यूजियम अफ आर्ट’ घुम्दा त्यहाँ मूर्ति देखेका थिए। उनले अनुसन्धानकर्ता एरिन थम्प्सनको लेख पढेपछि सो मूर्ति त आफ्नै टोलको लक्ष्मीनारायणको रहेको पत्ता पाए।

लक्ष्मीनारायणलाई पटको टोलमै सुरक्षा दिएर राख्नसकिने उनले बताएका छन्। लक्ष्मीनारायणको मूर्ति स्वतन्त्र अध्येता, अमेरिकी गुप्तचर संस्था ‘एफबीआई’ तथा नेपाल सरकारको पहलमा गएको ३० चैतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *