जसपा दलको नेताबाटै हटाइए उपेन्द्र पक्षका सहसराम यादव, यस्तो थियो लुम्बिनीको भित्री खेल

डिसी नेपाल
६ वैशाख २०७८ २२:४६

काठमाडौं। लुम्बिनी प्रदेशमा मन्त्री बन्न गएका जनता समाजवादी पार्टीका ४ नेतालाई तत्काल फिर्ता हुन निर्देशन दिने विज्ञप्ति निकाल्ने अशोक यादव समर्थक नेतालाई अर्को पक्षले संसदीय दलको नेताबाटै हटाइदिएको छ।

सरकार ढाल्ने र टिकाउने सत्ताको खेलमा जनता समाजवादी पार्टीका नेतामध्ये कोही मन्त्री बनेका छन् भने कोहीको भएको पद पनि चट् भएको छ। मन्त्री भएकाहरुको नाम सार्वजानिक भइसकेको भए पनि पद चट् भएका नेताको नाम भने गोप्य राखिएको थियो।

जनता समाजवादी पार्टी लुम्बिनीको संसदीय दलको नेताबाट सहसराम यादव हटाइएका छन्। उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका तर्फबाट प्रदेश सभामा निर्वाचित भएका सहसरामलाई जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेशको संसदीय दलको बैठकले पदबाट हटाउने निर्णय गरेको हो।

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जनता समाजवादी पार्टीका चारजना सांसदलाई कारवाही गर्न चेतावनी दिंदै विज्ञप्ति जारी गर्ने समाजवादी पार्टीका अध्यक्ष अशोककुमार यादव पक्षका नेता हुन् सहजराम यादव। बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी र महन्थ ठाकुरले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टी एकीकृत भएपछि बनेको राजपाको संसदीय दलमा सहसरामलाई दलको नेता बनाइएको थियो।

बैशाख ६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रिपरिषद्मा मन्त्री पदमा शपथ खानुअघि बसेको संसदीय दलको बैठकले सहसरामलाई दलको नेताबाट हटाएको माइन्युट गरेको थियो।

डिसी नेपाललाई प्राप्त सो माइन्युटमा सहसरामका विरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव पेश भएको र सो प्रस्तावमाथि छलफल गर्दा दुई तिहाइ बहुमतले उनलाई दलको नेताबाट हटाउने निर्णय भएको उल्लेख छ। जसपाको संसदीय दलमा जम्मा ६ जना सांसदहरु छन्। ६ जनामध्ये ४ जना सो बैठकमा सहभागी भएको माइन्यूटमा उल्लेख छ। सहसरामलाई हटाएर तत्कालीन प्रमुख सचेतक सन्तोष पाण्डेयलाई दलको नेता बनाइएको छ। उनकै नेतृत्वमा बैठकमा सहभागी चारैजना सांसदहरु मन्त्री बनेका छन्।

लुम्बिनी प्रदेश सरकारविरुद्ध जसपाका सांसदहरुले पनि अविश्वासको प्रस्तावका पक्षमा हस्ताक्षर गरेका थिए। तर, संसदीय दलको बैठकमा सहभागी सांसदहरुले खाली कागजमा अरु नै प्रयोजनका लागि गराइएको हस्ताक्षर सरकारविरुद्धको अविश्वासको प्रस्तावमा दुरुपयोग गरेको आरोप सहसरामलाई लगाइएको थियो।

केही दिनदेखि नै जसपाका नेताहरु पोखरेल सरकारमा सामेल हुने कुरा चल्न थालेपछि उनीहरुलाई रोक्न केन्द्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पक्षका नेता इस्तियाक राइनलाई बुटवल पठाएका थिए। राइले एमालेकै ६ जना सांसदले फ्लोर क्रस गरेर पोखरेलविरुद्ध मत हाल्ने भएकाले अव केही दिनको मन्त्री हुने कि अविश्वासको प्रस्तावका पक्षमा लागेर दुईबर्षका लागि मन्त्री हुने ? भन्दै सांसदहरुलाई लोभ्याउने प्रयास गरेका थिए। तर, उनको कुरा नसुन्न अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षले केन्द्रबाटै सन्देश पठाएको थियो।

लुम्बिनी प्रदेशमा संसदीय दल एउटै भए पनि जसपा पार्टी बनिसकेको छैन। सपा र राजपा एक भए पनि पार्टी समायोजन भइनसेकोले उपेन्द्र पक्षका नेता अशोक यादवको कारवाही गर्ने निर्देशनको कुनै तुक नभएको राजपाका केन्द्रीय नेता सर्बेन्द्रनाथ शुक्लले डिसी नेपाललाई बताए।

उनले भने, ‘अशोक यादव अनाधिकृत मान्छे हुन् उनलाई कारवाही गर्ने भन्दै पार्टीको तर्फबाट विज्ञप्ति निकाल्ने कुनै अधिकार छैन।’ उनका अनुसार, पार्टी नै समायोजन नभएकाले मन्त्री भएर सरकारमा गएका नेताहरुलाई पार्टीबाट कारावही हुने कुरै भएन, बैधानिक हैसियतमै संसदीय दलले निर्णय गरेकोले कारवाहीको चेतावनी वाहियात हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *