अस्पतालमा अक्सिजन चुहिएर भएको दुर्घटनामा २२ जनाको मृत्यु

डिसी नेपाल
८ वैशाख २०७८ १५:४०
908
Shares

नासिक (बीबीसी) । भारतमा महाराष्ट्र राज्यको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन भण्डारण गरिएको ट्याङ्कीबाट अक्सिजन चुहिएर भएको दुर्घटनामा कम्तीमा २२ जना व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।

उक्त अस्पतालमा १५० जना बिरामी भएको र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो। भारतीय समाचारसंस्था एएनआईका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा ट्याङ्करबाट अक्सिजन भर्ने क्रममा उक्त घातक दुर्घटना भएको हो।

अक्सिजन चुहिएकाले अस्पतालमा आधा घण्टासम्म अक्सिजनको आपूर्ति अवरुद्ध भएको थियो। “प्रावधिकहरूको सहयोगमा चुहावट बन्द गरिसकिएको छ। तर अस्पतालमा अब २५ प्रतिशत मात्र अक्सिजन बाँकी छ,” नासिक नगर निगमका आयुक्त कैलाश जाधव भने।

उनले घटनाको अनुसन्धान हुने र दोषीलाई कारबाही गरिने बताए। भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मानिसहरू गम्भीर बिरामी हुन थालेपछि अस्पतालमा चाप बढेको र त्यहाँ अक्सिजनको माग धेरै बढेको बताइन्छ।

अस्पतालमा अक्सिजनको अभाव देखिन थालेकाले दिल्ली हाई कोर्टले केन्द्र सरकारलाई अक्सिजनको औद्योगिक प्रयोग गर्न रोक लगाउन निर्देशन दिएको छ। भारत सरकारले बुधवार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दुई लाख ९५,००० जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस पुष्टि भएको थियो।

सो अवधिमा २,०२३ सङ्क्रमितको मृत्यु भएको थियो। भारतमा पहिलो पटक एकैदिन २,००० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। कोरोनाभाइरस अनियन्त्रित रूपमा फैलिन थालेपछि भारतमा धेरै राज्यले लकडाउन गर्ने निर्णय गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.