२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

डिसी नेपाल
३ भदौ २०८३ १०:४२

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन्। उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताएका हुन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै जनगणना ब्युरोले पहिलो १२ करोड ८० लाख मतदाताको विवरण परीक्षण गर्दा २४ हजारभन्दा बढी गैरनागरिकले अवैध रूपमा मतदान गरेको प्रमाणित भएको दाबी गरेका छन्। बाँकी ३ करोड २० लाख मतदाताको विवरणसमेत परीक्षण गरिने र त्यसपछि यो संख्या अझ बढ्ने उनको भनाइ छ।

ट्रम्पले सन् २०२० को निर्वाचनमा आफू विजयी भएको दाबी दोहो¥याउँदै अमेरिकी संसद्लाई ‘सेभ अमेरिका एक्ट’ पारित गर्न पनि आग्रह गरेका छन्। गत जनवरी २९ मा अमेरिकी संसद्मा प्रस्तुत गरिएको ‘सेफगार्ड अमेरिकन भोटर इलिजिबिलिटी अमेरिका एक्ट’ले संघीय निर्वाचनमा मतदाता नामावलीमा दर्ता हुँदा अमेरिकी नागरिकताको भौतिक प्रमाण अनिवार्य गर्ने प्रस्ताव गरेको छ।

यसअन्तर्गत राहदानी वा जन्मदर्ता प्रमाणपत्रजस्ता कागजात पेश गर्नुपर्ने तथा मतदानका क्रममा वैध फोटो परिचयपत्र देखाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित कानुनले बिरामी, शारीरिक अशक्तता, सक्रिय सैन्य सेवा वा यात्रा गर्नुपर्ने अवस्थाजस्ता निश्चित परिस्थितिबाहेक हुलाकमार्फत मतदानमा समेत प्रतिबन्ध लगाउने व्यवस्था अघि सारेको छ। साथै, संघीय तथ्यांकको प्रयोग गरी मतदाता नामावलीबाट गैरनागरिकको नाम हटाउने व्यवस्था गर्न राज्यहरूलाई निर्देशन दिने प्रस्ताव गरिएको छ।

ट्रम्पले भारतको निर्वाचन प्रणालीको उदाहरण दिँदै अमेरिकामा मतदाता परिचयपत्रसम्बन्धी व्यवस्था थप कडा बनाउनुपर्ने धारणा पनि राखेका छन्। उनले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले यसै महिनाको सुरुआतमा अमेरिकाको निर्वाचनमा वैध फोटो परिचयपत्रबिना कसरी मतदान हुन्छ भनेर प्रश्न गरेको दाबी गरेका छन्।

ट्रम्पका अनुसार भारतको पछिल्लो आमनिर्वाचनमा ६४ करोड ६० लाखभन्दा बढी मतदाता सहभागी भएका थिए र १ प्रतिशतभन्दा कम मत हुलाकमार्फत परेको थियो। उनले प्रत्येक मतदाताले वैध फोटो परिचयपत्र देखाउनुपर्ने व्यवस्थाको उल्लेख गर्दै अमेरिकामा पनि त्यस्तै व्यवस्था आवश्यक रहेको बताएका छन्।

यसैबीच, ह्वाइट हाउसले पनि सेभ अमेरिका एक्टलाई संघीय निर्वाचनमा अमेरिकी नागरिकले मात्र मतदान गर्ने सुनिश्चित गर्ने उद्देश्यको कानुनका रूपमा व्याख्या गरेको छ।

ह्वाइट हाउसका अनुसार प्रस्तावित कानुनले मतदाता दर्ताका क्रममा नागरिकताको प्रमाण र वैध परिचयपत्र अनिवार्य गर्नुका साथै हुलाक मतदानमा सीमितता र मतदाता नामावलीबाट गैरनागरिक हटाउने व्यवस्था गर्नेछ। ह्वाइट हाउसले भारत र ब्राजिलमा मतदाता परिचयलाई बायोमेट्रिक प्रणालीसँग जोडिएको उल्लेख गर्दै अमेरिकाको निर्वाचन प्रणाली तुलनात्मक रूपमा कम कडा रहेको दाबी गरेको छ।

भारतमा मतदाताको पहिचानका लागि एपिक अर्थात् मतदाता फोटो परिचयपत्र प्रणाली प्रयोग हुँदै आएको छ। सन् २०२४ को लोकसभा निर्वाचन सात चरणमा सम्पन्न भएको थियो, जसमा ६४ करोड २० लाखभन्दा बढी मतदाता सहभागी भएका थिए र समग्र मतदानदर ६५.७९ प्रतिशत रहेको थियो।

यद्यपि, ट्रम्पले गैरनागरिकले २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी मतदान गरेको दाबी गरेको विषयमा थप स्वतन्त्र प्रमाण तथा विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ। एएनआई

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *