कोरोना विशेष अस्पतालमा आगलागी, आइसीयुमा भर्ना १५ बिरामीमध्ये १३ को मृत्यु

डिसी नेपाल
१० वैशाख २०७८ ८:५२
372
Shares

काठमाडौं। भारतको महाराष्ट्रको पालघर जिल्लाको विरार पश्चिममा रहेको विजय वल्लभ कोभिड सेन्टरको आइसीयुमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ । यीमध्ये ४ जना महिला थिए । दुर्घटनाको समयमा आइसीयूमा १५ जना बिरामी थिए र पूरै अस्पतालमा ९० जना बिरामीलाई भर्ना गरिएको थियो। बिरामीहरुमध्ये अक्सिजन सपोर्टमा राखिएका २१ जना बिरामीलाई अर्को अस्पतालमा सारिएको छ।

शुक्रबार विहान ३ बजेर २५ मिनेटको समयमा आगलागी भएको थियो । एक घण्टाभित्रै आगो नियन्त्रण गरिएको थियो । एसीमा सर्ट भएका कारण आगलागी भएको बताइएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले घटनाको छानविन गर्न आदेश दिएका छन् । बिरामीका परिवारका सदस्यहरूले अस्पतालका कर्मचारीहरूले आगो लाग्दा बिरामीहरूलाई भित्र छोडेर भागेको आरोप लगाए।

कर्मचारी भागेपछि बिरामीका परिवारका सदस्य आफैँ भित्र पसेर बिरामीलाई निकाल्ने प्रयास गरेका थिए । रिपोर्टअनुसार दुर्घटनाको समयमा आइसीयूमा दुई जना नर्स थिए। अस्पतालका सिइओ दिलीप शाहले राती अस्पतालमा डाक्टरहरु रहेको दाबी गरे । तर दुर्घटनाको समयमा कति जना कर्मचारी ड्युटीमा थिए भनेर उनलाई सोध्दा उनले र ठ्याक्कै तथ्यांक दिन सकेनन्।

यसअघि महाराष्ट्रमै बुधबार नासिकस्थित एक सरकारी अस्पतालमा ठूलो दुर्घटना भएको थियो । यहाँको नगर निगमको जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांकी लिक भएको थियो । यसलाई मर्मत गर्न ३० मिनेट लाग्यो र अक्सिजनको आपूर्ति लामो समयसम्म रोकियो जसका कारण २४ जना बिरामीको मृत्यु भयो। अक्सिजन आपूर्ति रोकिएको समयमा १७१ जना बिरामी अक्सिजन सपोर्टमा थिए भने ६७ जना बिरामी भेन्टिलेटरमा थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *