अण्डरवर्ल्ड डन छोटा राजन कोरोना संक्रमित, एम्स अस्पताल भर्ना

डिसी नेपाल
१४ वैशाख २०७८ ९:५२
6.9k
Shares

काठमाडौं। अण्डरवर्ल्ड डन छोटा राजन कोरोना संक्रमित भएका छन् । तिहाड जेलमा रहेका उनलाई उपचारका लागि अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना गरिएको छ । जेल अधिकारीहरुलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएअनुसार उनको हालत स्थिर छ । सोमबार तिहाड जेलका अधिकारीहरुले एक सत्र अदालतलाई यसको जानकारी दिएका छन् ।

छोटा राजनलाई २०१५ मा इण्डोनेसियाको बालीबाट प्रत्यार्पण गरिएको थियो । उनी त्यतिबेलादेखि नै तिहाड जेलमा छन् । मुम्बइमा उनीविरुद्ध चलिरहेका सबै मुद्दा सीबीआइलाई स्थानान्तरण गरिएको छ । यी मुद्दाको सुनुवाइ विशेष अदालतमा चलिरहेको छ । सोमबार तिहाड जेलका सहायक जेलरले सत्र अदालतमा अहिले छोटा राजन कोरोना संक्रमित भएकोले उनलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा पेश गर्न नसकिने जानकारी गराएका थिए ।

छोटा राजनमाथि अपहरण र हत्यासँग सम्बन्धित करिब ७० मुद्दा चलिरहेका छन् । उनलाई पत्रकार ज्योतिर्मय डीको हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइसकिएको छ । पछिल्लो हप्ता मुम्बइको विशेष अदालतले हनीफ कडावालाको हत्या अभियोगमा छोटा राजन र उनका एक सहयोगीलाई बरी गरेको थियो । उनी १९९३ मा भएको मुम्बइ सिरियल बम विष्फोटका आरोपी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.