३२ वर्ष एक्लै टापुमा बसेका वृद्ध बसाइँ सर्दै

डिसी नेपाल
१४ वैशाख २०७८ १७:३४
148
Shares

बीबीसी । इटलीको एउटा टापुमा २० वर्षभन्दा बढी समयदेखि एक्लै बस्दै आएका एक व्यक्तिले सम्बन्धित निकायको दबावका कारण आफू बसाइँ सर्न लागेको बताएका छन्।

हाल ८१ वर्षका माउरो मोरान्डी सन् १९८९ मा उत्तरी सार्डिनियानजिकैको बुडेलीमा बस्न गएका थिए। गत वर्ष मोरान्डीले गुलाबी रङ्गका समुद्र किनारका लागि चर्चित टापुका मालिकहरूले आफूलाई बसाइँ सर्न भनेको बताएका थिए।

‘मैले जसरी ३२ वर्ष बुडेलीको रक्षा गरेँ त्यसैगरी भविष्यमा यसको संरक्षण हुने आ‍शा गर्दै म टापु छोड्दैछु,’ उनले आइतवार फेसबुकमा लेखेका छन्। सन् २०१८ मा बीबीसीसँग कुरा यी गर्दै यी पूर्वशिक्षकले आफू सधैँ विद्रोही खालको रहेको बताएका थिए।

‘हाम्रो समाजको धेरै कुराबाट म वाक्क थिएँ, उपभोगवाद र इटलीको राजनीतिक अवस्था,’ उनले भनेका थिए। ‘मैले मानववस्तीबाट टाढा खाली रहेको पोलिनेशिया टापुमा बसाइँ सर्ने निर्णय गरेँ। म प्रकृतिको नजिक नयाँ जीवन सुरु गर्न चाहन्थेँ।’

तर उनी र उनका केही साथीहरू समुद्री यात्रा गर्दै इटलीको ला माडालेना आइपुगे र त्यहाँ बाँकी यात्राका लागि खर्च जुटाउन काम गर्ने निधो गरे। बुडेली पुगेपछि र सेवानिवृत्त हुन लागेका उक्त टापुका संरक्षकसँग भेट भएपछि मोरान्डीले त्यहीँ बस्ने निधो गरे। त्यसयता उनी सोही टापुको हेरचाह एवं पर्यटकसँग कुराकानी गर्दै आएका थिए।

तर यसबीचमा उनलाई टापु छोड्न धेरै दबाव पर्‍यो। सन् २०२० मा ला माडालेनाको राष्ट्रिय निकुञ्जका प्रमुखले सीएनएनलाई मोरान्डीले टापुमा आफू बस्ने दोस्रो विश्वयुद्धकालीन रेडिओ स्टेशनको छाप्रोमा गैरकानुनी परिवर्तन गरेको बताएका थिए।

इटली सरकारलाई उनलाई त्यहाँ रहन अनुमति दिन माग गर्दै गरिएको एउटा अभियानमा ७० हजार जनाभन्दा बढीले हस्ताक्षर गरेका थिए। तर आइतवार उनले बसाइँ सर्ने निर्णय गरेपछि द गार्जियन पत्रिकालाई भने, ‘म नजिकैको टापुको एउटा सानो घरमा बस्नेछु। मेरो जीवन खासै परिवर्तन हुँदैन, म समुद्र देख्ने नै छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *