कोरोनाको लक्षण देखिएकी आमालाई सडकमा फालेर छोरा भागे, आमाको बेवारिसे मृत्यु
काठमाडौं। ५८ वर्षकी आमाले सास फेर्न समस्या भएको बताएपछि उनका छोराले आमालाई अस्पताल लैजानुको सट्टा सडकमा फालेर भागेका छन् । ५८ वर्षकी ती महिलालाई आइतबार कानपुरको चकेरीस्थित टाड बगिया क्षेत्रमा छोराले सडकमा बेवारिसे छोडेर भागेका थिए । केही बेरमा त्यहाँ बाटोमा हिँडेका मानिसहरुले महिलालाई सडकमा देखेपछि उनको भिडियो बनाएका थिए ।
समाचार एजेन्सी आइएएनएसका अनुसार भिडियो सार्वजनिक भएपछि घटनाबारे जानकारी पाएर घटनास्थल पुगेको पुलिसले उनलाई अस्पताल लगेको थियो । यी महिलाका पतिको मृत्यु भइसकेको छ र उनका पति भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल रहेको बताइएको छ । महिला आफ्ना छोरासँग बस्थिन् । पुलिस आउट पोस्ट इन्चार्ज मनोज कुमारका अनुसार उनले आफूलाई सास फेर्न समस्या भएकोबारे छोरालाई बताएकी थिइन् ।
छोराले उनलाई अस्पताल लैजानुको सट्टा टाड बगियामा आफ्नी विवाहित दिदीको घरमा लैजाने भनेर हिँडेका थिए तर दिदीको घर नजिकै बाटोमा छाडेर भागे । आमालाई कोरोना संक्रमण भएको र उनी मर्न लागेको ठानेर उनी भागेको बताइएको छ । पुलिसले महिलालाई तत्कालै उर्सुला अस्पताल लगेको थियो तर त्यहाँ महिलाको मृत्यु भयो । छोराविरुद्ध मुद्दा दर्ता गराइएको छ । उनी अहिले फरार भए पनि पक्राउ गरिने पुलिसले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment