२ वटा रुख काट्दा २ करोड रुपैयाँ जरिवाना ! अक्सिजन दिने रुख मासेको आरोप

डिसी नेपाल
१६ वैशाख २०७८ ११:५६
832
Shares

काठमाडौं। कोरोनाभाइरसको संक्रमण तीब्र भएपछि अहिले अक्सिजनको अत्याधिक अभाव भएको छ । अक्सिजनको हाहाकार भइरहँदा अहिले अक्सिजन दिने रुख संरक्षण गर्नुपर्ने आवाज जोडतोडका साथ उठिरहेको छ । यही बीचमा एक व्यक्तिलाई २ वटा रुख काटेको अभियोगमा झण्डै २ करोड रुपैयाँ जरिवाना तिर्न आदेश दिइएको छ ।

हिन्दूस्तान टाइम्सका अनुसार भारतको मध्य प्रदेशको वन विभागले एक आदिवासी समुदायका सदस्यलाई १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेपाली रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको हो । उनले रायसेन जिल्लाको जंगलमा दुई रुख काटेको आरोप छ । वन विभागका अधिकारीका अनुसार यो जरिवाना रुखबाट पाइने मापन गर्न सकिने र मापन गर्न नसकिने दुवै फाइदाहरुको हिसाब गरी लगाइएको हो । रायसेन जिल्लाको सिलवानी गाउँका ३० वर्षका छोटेलाल भिलालालाई जरिवाना तिर्न आदेश दिइएको हो । उनले जनवरी ५ मा सिंगोरी आरक्षमा २ रुख काटेका थिए । उनलाई अप्रिल २६ मा पक्राउ गरिएको थियो ।

बामहोरीका जंगल रेन्जर महेन्द्र सिंहले हिन्दुस्तान टाइम्ससँग भने ‘भारतीय वन अनुसन्धान तथा शिक्षा परिषदले गरेको एक अध्ययनअनुसार एउटा रुखले ५० वर्षको लागि ५२ लाख रुपैयाँ बराबरको अमूर्त लाभ दिन्छ । यसमा ११ लाख ९७ हजार बराबरको अक्सिजन आपूर्ति, २३ लाख ६८ हजार बराबरको वातावरण प्रदूषण नियन्त्रण, १९ लाख बराबरको भूक्षय नियन्त्रण र माटोको शुद्धीकरण र ४ लाख बराबरको पानी शुद्धीकरण पर्छन् । रुखले २ लाख बराबरको मूर्त लाभ दिन्छ । त्यसैले एउटा रुखले आफ्नो जीवनभरी ६० लाख बराबरको लाभ मानिसलाई दिन्छ ।’

फेब्रुअरीमा एउटा विज्ञ कमिटीले भारतको सर्वोच्च अदालतलाई एउटा रुखको मूल्य यसको आयुले रु ७४ हजार ५०० लाई गुणन गर्दा आउने रकमबराबर हुने बताएको थियो । ‘जरिवाना एउटा रुखले दिने लाभको आधारमा लगाइएको हो’ सिंहले भने । सिंहका अनुसार छोटेलालले जंगलमा रुख काटेर अवैध रुपमा फर्निचर पसलमा बेच्ने गर्छन् । छोटेलालका काका फुल भिलालाले भने ‘हामी जंगलको गाउँमा बस्छौं र ढलेका पुराना रूखहरू प्रयोग गरेर हाम्रो घर निर्माण गर्छौं तर रेन्जरले हामीलाई सताइरहेका छन् ।’

वकिल तथा भारतीय वन ऐनका ज्ञाता बीएल गुप्ताले भने ‘भारतीय वन ऐनअनुसार अवैध रुपमा रुख ढलाएमा ५ सय रुपैयाँ जरिवाना र ६ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । तर, रेन्जरले चार्जसिटमा जरिवाना एक अध्ययनको आधारमा लगाएका छन् । यो निकै रोचक केस हुनेवाला छ ।’ मध्य प्रदेश वन विभागका प्रमुख संरक्षक राजेश श्रीवास्तवले भने ‘मैले रायसेनका डिभिजन वन अधिकारीसँग यस विषयमा रिपोर्ट पठाउन भनेको छु किनकि राज्यमा यस किसिमको यो एकमात्र घटना हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.