जनशक्ति थप्न कर्णाली प्रतिष्ठान र सङ्घीय सरकारलाई आग्रह

डिसी नेपाल
१७ वैशाख २०७८ ८:३८

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशभर स्वीकृत दरबन्दीमा एकतिहाइ जनशक्ति मात्र भएको बताएको छ। दरबन्दीअनुसार आवश्यक जनशक्ति नभएको भन्दै प्रदेश सरकारले थप जनशक्ति आपूर्तिका लागि सङ्घीय सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई अनुरोध गर्ने सामाजिक विकासमन्त्री विमला केसीले जानकारी दिइन्।

“हामीले विभिन्न मितिमा करार प्रक्रियामार्फत १०९ चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना लिएको छौँ”, उनले भनिन्, “१५० सहायकस्तरका स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा छन् अब छिट्टै काम अघि बढ्छ”, उनले स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पताल गरी एक हजार ९५० आइसोलेशन, ६२ आइसीयू, ३४ भेन्टिलेटर र ५० एचडीयू शय्या रहेको बताइन्।

कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन आपूर्तिमा देखिएको चुनौती समाधान गर्न प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा ठूला अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको र दशवटै जिल्लामा मिनी अक्सिजन प्लान्टका लागि रु ४०÷४० लाखको दरले बजेट विनियोजन गरेको जनाइएको छ।

त्यस्तै प्रदेशको आन्तरिक क्षमताले नभ्याउने अवस्थामा नेपालगञ्जबाट दैनिक १५० सिलीण्डर आपूर्तिको व्यवस्था गरिएको र सङ्घीय सरकारको मापदण्डबमोजिम प्रदेशभर ठूला अक्सिजन सिलिण्डर आपूर्तिको व्यवस्था मिलाइएको छ । गरिब तथा विपन्न समुदायका लागि कोभिड उपचारमा आवश्यक पर्ने औषधि रेम्डिसिभर निःशुल्क व्यवस्थापन गरिएको छ।

त्यसैगरी प्रदेशभर विभिन्न चरणमा सञ्चालित कोभिड खोप कार्यक्रमअन्तर्गत पहिलो चरणमा एक लाख सात हजार २४१ र दोस्रो चरणमा २० हजार २५३ नागरिकले खोप सेवा प्राप्त गरेको प्रदेश सरकारले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *