कोरोनाभाइरस महामारीः अमेरिकाले आफ्ना नागरिकलाई सकेसम्म छिटो भारत छाड्न भन्यो
काठमाडौं। भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर अत्यन्तै घातक रुपमा फैलिएपछि अमेरिकाले आफ्ना नागरिकलाई सकेसम्म छिटो भारत छाड्न भनेको छ । भारतले बिहीबार मात्र ३ लाख ७९ हजार २५७ नयाँ संक्रमित थपिएको रिपोर्टिङ गरेको छ । यो विश्वमै १ दिनमा सबैभन्दा धेरै संख्या हो । बीबीसीका अनुसार भारतस्थित अमेरिकी दूतावासले सबै प्रकारका स्वास्थ्य सेवासम्मको पहुँच अत्यन्तै सीमित हुँदै गइरहेको चेतावनी दिएको छ ।
अमेरिकी विदेश विभागले भारतको हकमा आफ्ना नागरिकहरुलाई चौथो श्रेणीको ‘यात्रा नगर्नू’ एडभाइजरी जारी गरेको छ जुन विभागले जारी गर्ने यस किसिमका एडभाइजरीमध्ये सबैभन्दा माथिल्लो स्तरको हो । भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको आधिकारिक संख्या बुधबार २ लाख पार भएको छ । र, विज्ञहरुले वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने विश्वास गरेका छन् । दुतावासले जारी गरेको एडभाइजरीमा आफ्ना नागरिकहरुलाई ‘भारतको यात्रा नगर्न र भारतमा भएकाले सम्भव भएसम्म छिटो भारत छाड्न’ भनिएको छ ।
‘अमेरिकी नागरिक जसले भारत छाड्न चाहन्छन् उनीहरुले अहिले उपलब्ध कुनै पनि व्यवसायिक यात्रा विकल्पको लाभ लिनुपर्छ’ एडभाइजरीमा भनिएको छ । एडभाइजरीमा केही अमेरिकी नागरिकलाई ठाउँ नभएको भन्दै अस्पतालमा प्रवेश गर्न नदिइएको पनि उल्लेख छ । ह्वाइट हाउसले भारतलाई भ्याक्सिन बनाउन आवश्यक कच्चा पदार्थमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेसँगै यो एडभाइजरी आएको हो । अमेरिकाले प्रतिबन्ध फकुवा गरेपछि अब भारतले आफ्नो लागि २ करोडभन्दा धेरै डोज भ्याक्सिन बनाउन सक्छ ।







डिसी नेपाल








Facebook Comment