प्रधानमन्त्री निवासमा भूत पसेपछि…

डिसी नेपाल
२० वैशाख २०७८ ९:४५
9.8k
Shares

काठमाडौं। कुनै पनि देशको लागि त्यो देशको कार्यकारी प्रमुखको निवास अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिने गर्छ । कार्यकारी राष्ट्रपति हुने देशमा राष्ट्रपति निवास र कार्यकारी प्रधानमन्त्री हुने देशमा प्रधानमन्त्री निवासलाई अत्यन्तै महत्वको स्थानको रुपमा लिने गरिन्छ । तर, सेरेमोनियल राजतन्त्र र कार्यकारी प्रधानमन्त्री भएको देश जापानमा भने प्रधानमन्त्री आफ्नो सरकारी निवासमा बस्दैनन् । जापानको सरकारी प्रधानमन्त्री निवासमा विगत ९ वर्षदेखि प्रधानमन्त्री बसेका छैनन् ।

गएको मार्च महिनाको मध्यतिर जापानका विपक्षी नेता योशिहिडो नोडाले प्रधानमन्त्री निवास झण्डै १ दशकदेखि खाली रहेको तर त्यो भवनको व्यवस्थापनको लागि वार्षिक १६० मिलियन येन (१७ करोड रुपैयाँ) खर्च भइरहेको विषयमा प्रश्न उठाएका थिए । उनले देशका वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई सरकारी आवासमा सर्न के समस्या छ ? भनेर सोधेका थिए ।

रोचक कुरा के भने अहिले प्रश्न उठाउने विपक्षी नेता योशिहिडो नोडा पहिले देशका प्रधानमन्त्री भइसकेका नेता हुन् र जापानको सरकारी प्रधानमन्त्री निवासमा बस्ने उनी पछिल्ला प्रधानमन्त्री हुन् । उनीपछिका प्रधानमन्त्री सरकारी निवासमा बसेका छैनन् । नोडा २०१२ सम्म सत्तामा थिए । नोडाले यो प्रश्न उठाएपछि अहिले जापानको प्रधानमन्त्री निवासको चर्चा हुन थालेको छ र आखिर यो भवनमा प्रधानमन्त्री किन बस्दैनन् भन्ने विषयमा चासो बढेको छ ।

इन्डिपेन्डेन्टका अनुसार जापानको प्रधानमन्त्री निवासको नाम सोरेइ कोटेइ हो । जापानका अहिलेका प्रधानमन्त्री योशिहिडे सुगा करिब ७ महिनाअघि निर्वाचित भएका हुन् । प्रधानमन्त्री भएपछि उनी सरकारी निवासमा नबसी अन्य भवनमा बसिरहेका छन् । उनी डाइट सदस्यको डोरमेट्रीमा बस्छन् । रिपोर्टका अनुसार जापानको सरकारी प्रधानमन्त्री निवासमा भूत भएको हल्ला छ । र, भूतको डरकै कारण विगत ९ वर्षदेखि यहाँ प्रधानमन्त्री बस्न नगएको दावी गरिन्छ ।

जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका शिन्जो आबेले २०१२ देखि यो भवनमा बस्न छाडेका थिए । २००१ देखि २००६ सम्म जापानको प्रधानमन्त्री रहेका जुनिचिरो कोइजुमीले कथित रुपमा भूत भगाउनको लागि एक जना पुजारीलाई यो भवनमा बोलाएका थिए । त्यो समयमा यो घटनाको निकै चर्चा भएको थियो ।

यो भवनको इतिहास निकै हिंस्रक रहेको भने तथ्य हो । यही कारण हल्ला पनि निकै फैलिने गर्छन् । एक हल्ला यो पनि छ कि यहाँ हिंसामा मारिएका मानिसहरुको असन्तुष्ट आत्मा भट्किन्छन् । यो भवनको आसपास निकै रक्तपात भइसकेको छ । १९३२ मा सैन्य कूको प्रयासको क्रममा तत्कालीन प्रधानमन्त्री सुयोसी इनुकाइलाई नेवी अधिकारीको एक समूहले गोली हानेर मारिदिएका थिए । त्यसको ४ वर्षपछि फेरि सत्ता हत्याउने प्रयास भयो र त्यतिबेला प्रधानमन्त्री केइसुके ओकाडा का बहिनी ज्वाइँसमेत ४ जनाको हत्या भयो ।

जापानको प्रधानमन्त्रीको आवास निकै सुन्दर भने छ । सोरी कोटेइ नेशनल डाइट बिल्डिङसँग जोडिएको छ । यहाँ ५ वटा भवनहरु २५ हजार वर्गमिटरमा फैलिएका छन् । यही क्षेत्रभित्र स्टिल र सिसाले बनेको प्रधानमन्त्री निवासको शानदार भवन छ । गएको सेप्टेम्बरमा जापानका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका शिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि योशिहिडे सुगा प्रधानमन्त्री बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.