व्यायाम र खानपानले बढाउन सकिन्छ अक्सिजन

डिसी नेपाल
२१ वैशाख २०७८ ७:१९
96
Shares

काठमाडौँ। कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ। घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन्।

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डे सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताउँछिन्। “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित होम आइसोलेसनमा छन्। सामान्य व्यायामले धेरैलाई श्वासप्रश्वासमा सहज बनाउन सक्छ”, उनको भनाइ छ।

डा. पाण्डेका अनुसार घोप्टो परेर सुत्दा श्वासप्रश्वाससम्बन्धी बिरामीलाई केही फाइदा पुग्छ। “यो पुरानो विधि हो। यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्छ”, उनले थपिन्।

अस्पतालमा समेत यस्तो विधि प्रयोग गरिएको डा. पाण्डेको भनाइ छ। उनले भनिन्, “बिरामीलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन। त्यस्तो बेला हामी उहाँहरूलाई घोप्टो पार्छौं । यसो गर्दा फोक्सो फैलिन पाउँछ र श्वासप्रश्वासमा सजिलो हुन्छ।”

उनका अनुसार फोक्सोको सबभन्दा गह्रौँ भाग हाम्रो पछिल्तिर हुन्छ। त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ। यस्तै गिलासको पानीको सहायताले पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ।

डा. पाण्डेका अनुसार यसका लागि सुरुमा गिलासमा पानी राख्नुपर्छ र मुखमा बाहिरको हावा भर्नुपर्छ। त्यसपछि गिलासको पानीमा विस्तारै मुखको हावा छोड्ने गर्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ।

यता कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि घरमा आइसोलेसनमा बसेका सबैले अपनाउनुपर्ने बताउँछन्।

उनले भने, “शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्छ। यसका लागि अनुलोम विलोम पनि एउटा उपाय हुन्छ। ” अनुलोम विलोममा पलेँटी कसेर मेरुदण्ड सीधा पारेर बसेपछि नाकका दुई प्वालमध्ये एकबाट हावा लिएर दोस्रोबाट छोड्नुपर्ने सुझाव उनको छ।

प्लास्टिक झोलाको माध्यमबाट पनि श्वासप्रश्वासमा सजिलो हुन्छ। उनले भने, “प्लास्टिकको झोला फुक्ने र श्वास लिने गर्दा पनि राम्रो हुन्छ । ” कोरोना सङ्क्रमण भएपछि शरीरमा पानीको मात्रा कम हुन नहुने जानकारी दिँदै उहाँले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताए।

डा. जोशीका अनुसार झोलिलो खानेकुरा धेरै खाने, टुसा उम्रिएको चनाको झोल बनाएर खाने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो हुन्छ। गाेरखापत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *