विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

डिसी नेपाल
६ वैशाख २०८१ ७:४५
40
Shares

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३(१) बमोजिम भोलि ७ वैशाख दिउँसो ३ बजेदेखि बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीराज अर्यालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरी अघिल्लो दिन नै पत्र कार्यालय आएकामा प्रदेश प्रमुख पोखराबाहिर भएकाले बुधबार मात्र बैठक आह्वान’bout निर्णय भएको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले मिति तोक्ने अधिकार मुख्यमन्त्रीलाई दिएर अधिवेशन आह्वानको निर्णय मात्रै गरेको थियो । ‘मिति मुख्यमन्त्रीज्यूले प्रदेश प्रमुखसँग सल्लाह गरेर तोक्नेगरी अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरिएको हो,’ सरकारका प्रवक्ता एवं मन्त्री हरिबहादुर चुमानले भने, ‘अरू सबै अधिकार मुख्यमन्त्रीलाई दिइएको छ ।’

मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश नकुर्दै हतारहतार विश्वासको मतको प्रस्ताव राख्ने तयारी गरेका छन् । त्यसपूर्व उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरिसकेका छन् ।

उनको नियुक्ति असंवैधानिक भएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दिएकामा सर्वोच्चले १० वैशाखको पेसी तोकेको छ । मुद्दाको किनारा नलाग्दासम्म दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्चको आदेशलाई अधिकारी सरकारले लत्याएर विश्वासको मत लिन लागेपछि कांग्रेस संसदीय दलका नेता पाण्डेले पूरक निवेदनसमेत सर्वोच्चमा दायर गरेका बताइएको छ ।

सभामुखको समेत संख्या गनेर बहुमत (३१ सिट) पुगेको भन्दै एमाले संसदीय दलका नेता अधिकारीले गत २५ चैतमा नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीको दाबी गरेका थिए । तर, प्रदेश प्रमुखले कानुनको अपव्याख्या हुनेगरी मुख्यमन्त्री नियुक्त गरेको कानुन व्यवसायीको टिप्पणी छ ।

अधिकारी सरकारलाई आफ्नो पार्टी नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे) १ सहितका सांसदको समर्थन छ । ६० सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सदस्य छन् । मुख्यमन्त्रीमा नियुक्त अधिकारीको यो दोस्रो कार्यकाल हो । उनले गत वर्ष करिब सय दिन सरकार चलाएका थिए ।

यसैबीच, अदालतको मानहानि हुनेगरी अधिवेशन आह्वान गरिएकामा कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ । दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । उनले सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुनेगरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति गर्नु तथा प्रदेशसभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै गरिएका यस्ता असंवैधानिक क्रियाकलापप्रति गम्भीर असहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुनेहुँदा यसको जिम्मेवार सम्बन्धित पक्ष हुनेसमेत स्पष्ट पार्दछौं ।’

राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *