कस्तो छ नेपाल र कतारबीच सम्बन्ध ?

डिसी नेपाल
११ वैशाख २०८१ ७:११

काठमाडौं । कतारका राष्ट्रप्रमुखसमेत रहेका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी दुईदिने राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन् । अमिर नेपाल भ्रमणमा आउँदा नेपाल सरकारले देशभरि सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारी राजाको सम्मानमा सार्वजनिक बिदा दिएको हो । यस्तै, अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमिर अल थानीलाई अपराह्न ५ः३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नेछन् ।

अमिरले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्नेछन् भने उनको सम्मानमा राजकीय भोजको आयोजना गरिने भएको छ । बुधबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

खाडी मुलुकबाटै पहिलोपटक राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको हो । नेपालीहरूको प्रमुख गन्तव्यमध्येको देश कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिइएको छ । नेपाल र कतारबीच श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायतका विषय उच्च प्राथमिकतामा राखिएको बताइएको छ । पहिलोपटक नेपाल आउन लागेका अमिरले दुईवटा निजी विमान लिएर काठमाडौंमा अवतरण गर्नेछन् ।

यस्तै, कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले अमिरलाई स्वागत गर्न पाउँदा नेपाली जनता उत्साहित भएको बताएका छन् । यो भ्रमणले दुई देशबीच कूटनीतिक र व्यापारिक सम्बन्ध मजबुत बनाउन कोशेढुंगा सावित हुने अपेक्षा गरिएको बताए ।

नेपाल र कतारबाट दैत्य सम्बन्ध स्थापित भएको ४७ वर्ष पूरा भएको छ । यी दुई मुलुकबीच २१ जनवरी १९७७ देखि कूटनीतिक सम्बन्ध कायम भएको हो । कूटनीतिक सम्बन्ध कायम भएको झन्डै २७ वर्षपछि मात्र सन् २००४ मा कतारमा नेपाली दूतावास स्थापना भएको हो भने त्यसको झन्डै आठ वर्षपछि ११ जुलाई २०११ बाट नेपालमा कतारले दूतावास स्थापना गरेको थियो । त्यसयता कतार नेपालको असल मित्र देशका रूपमा परिचित हुँदै आएको छ ।

नेपालसँग श्रमको सम्बन्ध
कतार विगत लामो समयदेखि नेपालीका लागि मात्र नभई विश्वका अति विकसित देशका नागरिकका निम्ति पनि रोजगारीका लागि आकर्षित गन्तव्य रहिआएको छ । यहाँको सुरक्षा व्यवस्था, प्रशासनिक नीति नियम, कानुन तथा सरकारले विकासका निम्ति अवलम्बन गरेको दीर्घकालीन रणनीतिलगायत अन्य परिवर्तनकारी विषयले पनि कतारलाई अन्य खाडी मुलुकको तुलनामा विशिष्टता प्रदान गरेको छ ।

हुन त कतारमा नेपालीको प्रवेश सन् १९८६ को दशकतिर भए पनि विधिवत् रूपमा सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर भएपछि मात्रै नेपालीको उपस्थिति बाक्लिँदै गएको पाइन्छ । नेपालीहरू साधारण श्रमिकदेखि उच्च पदसम्म कतारमा कार्यरत रहेका छन् ।

श्रम सम्झौता भएको चार वर्षभित्र सम्झौता पुनरावलोकन गर्नुपर्छ । कतारसँग १९ वर्षसम्म श्रम सम्झौता नवीकरण हुन सकेको छैन । यसको मुख्य कारण महिला कामदार हो । कतारका रोजगारदाता कम्पनीले नेपालबाट घरेलु रोजगारीमा महिला कामदार लैजान चाहन्छन् । नेपाल सरकारले भने घरेलु रोजगारीमा महिला पठाउन २०७२ साल चैतदेखि रोक लगाएको छ ।

नेपालले श्रम सम्झौता नवीकरणका लागि प्रस्ताव गर्दै आए पनि कतारले चासो दिएको छैन । सम्झौता नवीकरणका लागि श्रम मन्त्रालय र कतारी श्रम तथा रोजगार मन्त्रालयको प्राविधिक कमिटीबीच ११ पटक छलफल भइसकेको छ ।

यी सबै विषयमा पनि अमिर आएको बेला छलफल हुने अपेक्षा गरिएको छ । विगतमा झैं हाल फेरि यहाँको सुरक्षा निकायमा पनि नेपालीको प्रवेश सुरु भएको छ । जसले गर्दा नेपालीले आफ्नो दक्षता, सीप र क्षमता देखाउने अवसर मिलेको प्रोफेसर मोहम्मद रमजान अली मियाँ बताउछन् ।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६ सय ५० नेपाली कार्यरत रहेका छन् । तीमध्ये ११ हजार ९० जना महिला कामदार कार्यरत छन्।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *