मुख्यमन्त्री पुनः नियुक्त भएको एक हप्तामै शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

डिसी नेपाल
२६ वैशाख २०७८ १३:०८

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएर एकल बहुमतको मुख्यमन्त्रीको रुपमा पुनः नियुक्त भएको एक हप्तामै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार पोखरेलविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले पुनः अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभामा ७९ जना सांसद छन् । यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध बैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । तर, सो प्रस्ताव सभाको बैठकमा पेश हुने कार्यसूची भएकै दिन अघिल्लो आइतबार बिहानै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए । सोही दिन बेलुका उनी एकल बहुमतको मुख्यमन्त्रीको रुपमा पुनः नियुक्त भएका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ । यसअघि एमालेको एकल बहुमतको दावीसहित पोखरेल पुनः मुख्यमन्त्री भएकोमा विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *