मुख्यमन्त्री पुनः नियुक्त भएको एक हप्तामै शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता
फाइल
काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएर एकल बहुमतको मुख्यमन्त्रीको रुपमा पुनः नियुक्त भएको एक हप्तामै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार पोखरेलविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।
विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले पुनः अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभामा ७९ जना सांसद छन् । यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध बैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । तर, सो प्रस्ताव सभाको बैठकमा पेश हुने कार्यसूची भएकै दिन अघिल्लो आइतबार बिहानै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए । सोही दिन बेलुका उनी एकल बहुमतको मुख्यमन्त्रीको रुपमा पुनः नियुक्त भएका थिए ।
माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ । यसअघि एमालेको एकल बहुमतको दावीसहित पोखरेल पुनः मुख्यमन्त्री भएकोमा विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment