भारतमा गंगा नदी किनारमा फेला परे दर्जनौँ शव

डिसी नेपाल
२८ वैशाख २०७८ ९:३७
412
Shares

बीबीसी। उत्तर भारतमा गंगा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेको अधिकारीहरूले बताएका छन्। कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ।

भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सिमानामा नदी किनारमा ती शव फेला परेको सोमवार बीबीसीले जानकारी पाएको छ। कतिपय सञ्चारमाध्यमले एक सय शवटा फेला परेको र तिनको अवस्था हेर्दा कैयौँ दिनदेखि ती नदीमा बगेको हुनसक्ने जनाएका छन्।

स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दाहरूसँग सोधपुछ गरेपछि बीबीसीलाई ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने बताए।

तिनलाई अब गाड्ने वा जलाउने उनले बताए। अधिकारीहरूका अनुसार ती शव फुलेका छन् अनि केही जलेका पनि छन्। गंगा नदीको किनारमा शव जलाउने परम्पराअन्तर्गत ती त्यहाँ पुगेको हुनसक्ने एनडीटिभी च्यानलले उल्लेख गरेको छ।

केही स्थानीय बासिन्दा तथा स्थानीय पत्रकारहरूले बीबीसी हिन्दीसँग कुरा गर्दै दाउराको अभाव तथा अन्तिम संस्कारको बढ्दो खर्चले गर्दा कतिपय परिवारहरू शवलाई सोझै नदीमा हालिदिन बाध्य भएका हुनसक्छन्।

एकजना स्थानीय बासिन्दा चन्द्रमोहनले निजी अस्पतालहरूले लुट मच्चाएको अनि अन्तिम संस्कारका खर्च बढेकाले मानिसहरू नदीमा शव फाल्न बाध्य भएको बताए। भारतमा कोभिड-१९ का कारण दुई लाख ४२ हजारभन्दा धेरै मानिसको ज्यान गएको आधिकारिक विवरण छन्।

तर विज्ञहरू मृतकहरूको वास्तविक सङ्ख्या निकै धेरै हुनसक्ने ठान्छन्। कोरोनाभाइरस महामारीको दोस्रो लहरले भारतलाई नराम्ररी प्रभावित गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.