विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना न्यून

सम्भव सिंह ठकुरी
३० वैशाख २०७८ १२:०५

काठमाडौं। प्रतिनिधिसभामा विश्वासको मत गुमाएर प्रधानमन्त्री केपी शर्मा ओली स्वत पदमुक्त भएपछि गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ।

गठबन्धनले नयाँ सरकार निर्माणका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रसरता लिएपछि हालसम्म उनको पक्षमा बहुमत जुटेको छैन। माओवादी केन्द्रले समर्थन गर्ने भएपनि त्यो संख्या सरकार गठनका लागि प्रयाप्त हुँदैन।

जसपाको एउटा समूह देउवा नेतृत्वमा सरकार गठनका लागि तयार भएपनि अर्को पक्षले गठबन्धन सरकारको पक्षमा नलाग्ने जनाएपछि नयाँ सरकार गठन झन अन्योलमा परेको हो।

माओवादी, सिंगो जसपा र एमालेभित्रको असन्तुष्ट पक्ष माधव नेपालको समर्थनमा देउवा प्रधानमन्त्री बन्न खोजेका थिए। तर बिहीबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरिएको कारवाही फिर्ता लिने निर्णय गरेसँगै एमालेभित्रको विवाद समाधानउन्मुख भएको छ।

देउवाले एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदले राजीनामा दिने र आफ्नो पक्षमा बहुमत पुग्ने विश्वास लिएका थिए। तर घटनाक्रम त्यसतर्फ गइरहेको छैन।

योसँगै गठबन्धन सकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमाभित्र गठबन्धन सरकार बन्ने संभावना क्षिण भएको हो।
बुधबार कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा एमाले नेता भीम रावलले आफ्नो समूहले राजीनामा दिएर भएपनि नयाँ सरकारको गठनको गाँठो फुकाउने आश्वासन दिएपनि उक्त समूहबाट आधिकारिक निर्णय नआएको कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महलले बताए।

उनका अनुसार अहिलेको अवस्थामा गठबन्धनको सरकार बन्ने सम्भावना न्यून छ। जसपाका महन्थ ठाकुर पक्ष सहभागी नहुने भनेपछि नै गठबन्धनलाई सकस परेको थियो। ‘मनाउने प्रयास गर्दा पनि उहाँहरु सामेल नहुने प्रष्ट भइसक्यो। अब निर्णायक शक्तिको रुपमा माधव नेपाल समूहले कस्तो निर्णय लिन्छ,त्यो कुराले भावी सरकारको निधो गर्छ,’ डा. महतले भने।

यता माधव नेपाल समूहका नेता गोकर्ण बिष्टले राजनीतिक निकास र आफ्नो समूहको भावी रणनीतिबारे आज छलफल हुने बताए। तर पार्टीले चार जना नेतामाथि गरेको कारवाही फुकुवा गर्ने निर्णयगरेसँगै माधव नेपाल समूहले राजीनामा दिने संभावना टरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *