कोरोना संक्रमितका लागि आशाको किरण, औषधिले नसकेको काम ‘चेस्ट फिजियोथेरापी’ले गर्‍यो

डिसी नेपाल
३१ वैशाख २०७८ ११:३६
1.9k
Shares

काठमाडौं। कोरोनाभाइरस संक्रमणले समाजको अवस्था दयनीय बनाइरहेको छ । लगातार बढिरहेका बिरामी, अक्सिजनको अभाव, औषधिको अभाव, अस्पतालमा बेड र भेन्टिलेटरको अभाव जस्ता समस्याले अहिले हाम्रो समाज आक्रान्त भइरहेको छ । बिरामीलाई बचाउन ठूलो संकट परिरहेका बेला डाक्टरहरुले पनि बिरामीलाई बचाउनको लागि नयाँ नयाँ प्रयोग समेत गरिरहेका छन् । डाक्टरहरुका यी प्रयोगबाट केही यस्ता नयाँ उपाय समेत पत्ता लागेका छन् जसले बिरामीलाई मृत्युबाट बचाउन सहयोग पुगिरहेको छ ।

नेपालमा जस्तै सामाजिक बनोट र संक्रमणको समस्या भएको छिमेकी देश भारतका चिकित्सकहरुले बिरामीको ज्यान बचाउने नयाँ तरिका निकालेका छन् । भारतीइ अखबार दैनिक भास्करमा प्रकाशित समाचारअनुसार राजस्थानको राजधानी जयपुरमा डाक्टरहरुले बिरामीहरुलाई ‘चेस्ट फिजियोथेरापी’ दिन थालेका छन् । यो थेरापीबाट ठूलो संख्यामा बिरामहिरु निको भइरहेका छन् ।

अक्सिजनको कमीका कारण सास फेर्न कठिनाइ भएका संक्रमित बिरामीहरुको लागि चेस्ट फिजियोथेरापी प्रभावकारी देखिएको छ । यो विधिबाट जयपुरका कैयौं अस्पतालमा भर्ना भएका बिरामीको सेचुरेसन (अक्सिजन लेभल) बढेको छ र बिरामीको फोक्सोको सुधार दर पनि तीब्र भएको छ । केही बिरामीहरुमा यो प्रयोग गरिँदा अक्सिजन सपोर्टमा रहेका बिरामीको समेत अक्सिजन लेभल सामान्य अवस्थामा आएको पाइएको छ ।

पछिल्ला दिनमा कोरोना संक्रमितको सेचुरेसन लेभल केही स्तरसम्म बढाउनको लागि डाक्टरहरुले जसरी प्रोनिङ गर्ने सल्लाह दिएका थिए ठिक त्यस्तै गरी चेस्ट फिजियोथेरापीको माध्यमबाट पनि बिरामीहरुको अक्सिजन लेभल बढाएर त्यसलाई सन्तुलित लेभलमा ल्याउन सकिने देखिएको छ । जयपुरको रिलाइफ हस्पिटलका प्रमुख फिजियोथेरापिस्ट डा. अवतार डोइका अनुसार जयपुरमा चेस्ट फिजियोथेरापीलाई अहिलेसम्म अरु अस्पतालमा सुरु गरिएको छैन । तर डा. अवतारसहित उनको टिमले स्वयं अन्य अस्पतालमा गएर बिरामीहरुलाई चेस्ट फिजियोथेरापी दिएका छन् । उनका अनुसार १५–२० दिनभित्र १ सयभन्दा धेरै बिरामीलाई चेस्ट फिजियोथेरापी दिइएको छ र यसको नतिजा निकै राम्रो पाइएको छ ।

यो थेरापीबाट बिरामीको सेचुरेसन लेभल बढ्ने मात्र नभइ फोक्सो निको हुने दर पनि तीब्र भयो । यो थेरापी लिएपछि कैयौं बिरामीलाई अक्सिजन सपोर्टको आवश्यकता पनि परेन । डा. अवतार डोइका अनुसार यो थेरापी केवल ती बिरामीहरुलाई मात्रै दिइन्छ जसको सेचुरेसन लेभल ८० भन्दा माथि छ । यो थेरापीमा डाक्टरहरुले बिरामीको फोक्सोमा जमेको कफलाई खुकुलो पार्छन् । यसो गर्दा कफ बाहिर आउन थाल्छ र बिरामीको सास फेर्ने क्षमता बढ्छ ।

विशेषज्ञका अनुसार कोभिड बिरामीको फोक्सो भाइरसका कारण क्षतिग्रस्त हुन्छन् । केही बिरामीको फोक्सोमा टाइट स्पुटम (कफ) जम्ने समस्या पनि हुन थाल्छ । कफ जमेपछि फोक्सोले आफ्नो क्षमताअनुसार काम गर्न सक्दैन । यही कारण बिरामी निको हुन पनि ढिलो हुन्छ । निको हुने तीब्रता बढाउन बिरामीको फोक्सोबाट कफ हटाउनु जरुरी हुन्छ ताकि फोक्सोले राम्रोसँग काम गरोस् र बिरामीले सास फेर्न सकुन् ।

फोक्सोमा जमेको कफलाई खुकुलो पारेर बाहिर निकाल्नको लागि डाक्टरहरु फरक फरक औषधि प्रयोग गर्छन् तर औषधिले कफ निकाल्न समय लाग्छ । अहिले डाक्टरहरुले चेस्ट फिजियोथेरापीको माध्यमबाट बिना औषधि फोक्सोमा जमेको कफलाई खुकुलो पार्छन् र त्यो कफ आफैं बिरामीको शरीरबाट बाहिर निस्किन थाल्छ । बिरामीको फोक्सोबाट कफ बाहिर निस्किन थालेपछि बिरामीलाई सास फेर्ज सहज हुन्छ । संक्रमित फोक्सो पनि छिटो ठिक हुन्छ ।

डा. डोइका अनुसार चेस्ट थेरापीमा पनि तीन तहका भोल्युम हुन्छन् । यी भोल्युम बिरामीको स्थिति हेरेर तय गरिन्छ । चेस्ट थेरापीमा पहिले फोक्सोको कुन भागमा धेरै कफ जमेको छ भन्ने हेरिन्छ । फोक्सोका सुल्टो हाततर्फ बनेका ३ भाग र उल्टो हाततर्फ बनेका २ भाग हुन्छन् । कफ कुन भागमा जमेको छ भन्ने पत्ता लगाउन बिरामीको सिटी स्क्यान रिपोर्ट हेरिन्छ । यो रिपोर्टका आधारमा अलग अलग स्थितिमा थेरापी दिइन्छ । थेरापीमा सबैभन्दा पहिले मेसिनको भाइब्रेसनको माध्यमबाट र त्यसपछि मानवीय रुपमा हातले थपथपाएर जमेको कफलाई खुकुलो पारिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.