पदबहाली गर्दै प्रधानमन्त्रीले गरे महामारी रोकथाममा एकजुट भएर लाग्न आह्वान

डिसी नेपाल
३१ वैशाख २०७८ १६:२९
120
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरेका छन्। तेस्रो कार्यकालका लागि शपथग्रहणपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उनले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गरे।

महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उनले सचेत गराए। उनले भने, ‘‘यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन। कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन। सरकारले कडाइका साथ कारवाही गर्नेछ।’

प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गरे। उनले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गरे।

प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरुपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिए। कार्यक्रममा नवनियुक्त मन्त्रिगण र सरकारका उच्च कर्मचारीको सहभागिता थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *