९ हजार सिलिण्डर संकलन गरेर प्रहरीले अस्पताललाई बुझायो
काठमाडौं। नेपाल प्रहरीले देशभरबाट ८ हजार ७ सय ३९ वटा सिलिण्डर संकलन गरेर अस्पतालहरुलाई बुझाएको छ। कोभिड अस्पतालहरुमा अक्सिजन सिलिण्डर कम भएपछि प्रहरीले एक हप्तामा ती सिलिण्डर संकलन गरी अस्पताललाई बुझाएको हो। प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार कोरोना संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि प्रहरीले अस्पतालबाहेकमा रहेका अक्सिजन सिलिण्डर संकलन गर्ने अभियान नै चलाउँदै आएको थियो।
उनका अनुसार देशभरबाट आइतबार मात्रै ५ सय ३६ वटा अक्सिजन सिलिण्डर संकलन गरिएको छ। शनिबारदेखि आइतबार साँझसम्म २ सय ३७ वटा भरिएका र २ सय ९९ खाली सिलिन्डर गरी देशभरबाट ५ सय ३६ अक्सिजन सिलिण्डर संकलन गरेको हो। ‘विगत एक हप्ताकोबीचमा देशभरबाट आठ हजार सात यस ३९ वटा सिलिण्डर संकलन गरेर बुझाइएको छ’, एसएसपी कुँवरले भने। गृह मन्त्रालयले केही दिनअघि गरेको सर्कुलर अनुसार प्रहरीले देशभरबाट अक्सिजन सिलिण्डरहरु संकलन गर्दै कोभिड अस्पताल तथा अक्सिजन प्लान्टहरुलाई उपलब्ध गराउँदै आइरहेको छ।
उनका अनुसार यसरी संकलन गरिएका र यसअघिको स्टकरहेका १ सय ९ वटा गार जम्मा ६ सय ४५ वटा सिलिन्डरमध्ये आइतबार ५ सय ८६ वटा सिलिण्डर विभिन्न कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगमा पठाइएको छ। प्रहरीले आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संङ्कलन गरिएको प्रहरीले जनाएको छ। प्रहरीले संकलन गरेका सिलिण्डरहरु सुरक्षित रहने जनाएको छ।







डिसी नेपाल








Facebook Comment