विश्वम्भरा ज्योतिष विज्ञान परिषद्ले गर्‍यो डा. रुद्रनाथ अधिकारीलाई सम्मान

डिसी नेपाल
२४ भदौ २०८३ २०:३४

काठमाडौं । विश्वम्भरा ज्योतिष विज्ञान परिषद् नेपालले प्रसिद्ध ज्योतिषाचार्य, कर्मकाण्डविद् तथा गीतकार डा. रुद्रनाथ अधिकारीलाई सम्मान गरेको छ। परिषद्को १३औँ साधारणसभा तथा अधिवेशनका अवसरमा डा. अधिकारीलाई ज्योतिष, कर्मकाण्ड, धर्मशास्त्र तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

डा. अधिकारी राष्ट्रिय समावेशी म्युजिक निम अवार्डको नवौँ संस्करणअन्तर्गत सुगम सङ्गीत (पुरुष) विधामा उत्कृष्ट स्थान हासिल गरेका गीतकार हुन्। उनले वर्षको उत्कृष्ट गीतकार अवार्डसमेत प्राप्त गरेका छन्।

त्यसैगरी, डा. अधिकारी गत महिना श्रीलंकामा आयोजित ‘ग्लोबल ब्रान्ड अवार्ड २०२६’ (सिजन–२, श्रीलंका च्याप्टर) बाट पनि सम्मानित भएका थिए। अगस्ट २५ देखि २९ सम्म श्रीलंकाको कोलम्बोस्थित प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्रिज’ मा आयोजित विशेष अन्तर्राष्ट्रिय समारोहमा उनलाई नेतृत्व, नवप्रवर्तन तथा समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो।

बहुआयामिक तथा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित डा. अधिकारी नेपालका चर्चित ज्योतिषमध्ये एक मानिन्छन्। ज्योतिषसँगै कर्मकाण्ड, धर्मशास्त्र र साहित्यमा समेत उनको सक्रियता रहँदै आएको छ।

उनका लेख, साहित्य तथा गीतमा जीवन, समाज, संस्कृति र मानवीय भावनाका विविध आयाम प्रस्तुत हुने गरेका छन्। उनका सिर्जनामा साहित्यिक गहिराइसँगै सांगीतिक संवेदनशीलताको संयोजन पाइने गरेको समीक्षकहरूको भनाइ छ।

पछिल्ला केही वर्षयता डा. अधिकारी साहित्य, पुस्तक तथा गीत लेखनमा निरन्तर सक्रिय छन्। विभिन्न क्षेत्रमा प्राप्त सम्मानले उनको बहुआयामिक सिर्जनात्मक यात्रालाई थप स्थापित गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *