महाकाली अस्पतालको सघन उपचारकक्षमा शय्या अभाव

डिसी नेपाल
११ जेठ २०७८ १०:२५
56
Shares

महेन्द्रनगर । महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा शय्या अभाव हुन थालेको छ। कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो। अस्पतालको सघन उपचारकक्षमा हाल छवटा शय्या मात्रै रहेका छन्। बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पु¥याउनुपर्ने अवस्था देखिएको छ।

कोरानाको दोस्रो लहर फैलिएपछि अस्पतालको सघन उपचारकक्षका शय्या बिरामीले भरिएका हुन्। सघन उपचारकक्षसहित आइसोलेशन गरी सङ्क्रमितका लागि ९२ शय्या छन्, ती सबै भरिएका छन्।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले कोरोनाका गम्भीर अवस्थाका बिरामीका कारण आइसीयू कक्षमा शय्या बढाउनुपर्ने बाध्यता आएको बताए। “अहिले छ शय्या छन्, ती सबै भरिएका छन्। गम्भीर अवस्थाका बिरामीलाई आइसीयूमा भर्ना नगरी नहुने बाध्यता छ”, उनले भने, “डिस्चार्ज नभई आएकालाई भर्ना गर्न नसकिने भयो, त्यसैले शय्या थप्नुपर्ने अवस्था छ।”

आइसीयूकक्षमा तत्काललाई १५ शय्या थप्नुपर्ने अवस्था देखिएको अध्यक्ष जोशीले बताए। “बिरामी सङ्ख्या हेर्दा त २५ शय्या थपेर पनि नहुने जस्तो छ”, उनले भने, “तत्काललाई १५ शय्या थप्नुपर्ने छ ।” आइसीयू कक्षमा शय्या थप्नका लागि अस्पतालका पदाधिकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेका छन्। अस्पतालले आइसीयूमा शय्या थप र एचडीयू सञ्चालनका लागि मन्त्रालयबाट सकारात्मक आश्वासन पाएको छ।

आइसीयू कक्षका लागि अस्पतालमा अहिले १८ भेन्टिलेटर छन् । मन्त्रालयबाट पछिल्लोपटक मात्रै पाँच भेन्टिलेटर आएका हुन्। त्यसअघि १३ भेन्टिलेटर आएका थिए। अस्पतालले आइसीयूसँगै एचडीयू सञ्चालनका लागि पनि पहल अघि बढाएको छ । चिकित्सकसहितको जनशक्ति नभएर एचडीयू सञ्चालन रोकिएको छ । अस्पतालमा २५ शय्याको एचडीयू कक्ष बनाइएको छ । भेन्टिलेटरबाहेक अन्य मोनिटरलगायतका सबै उपकरण जडान गरिएका छन्।

“मोनिटरलगायतका सबै उपकरण जडान गरिएको छ । शय्या छन् । भेन्टिलेटर जडान हुन बाँकी छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले भने, “जनशक्ति नभएर सञ्चालन हुनसकेको छैन ।” एचडीयू सञ्चालनका लागि पाँच चिकित्सकसहितका ३५ स्वास्थ्यकर्मी चाहिने उनको भनाइ छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.