स्पेनका पुरुष शिक्षकहरु किन स्कर्ट लगाएर स्कुल जान थाले ?
काठमाडौं। स्पेनका स्कुलमा अध्यापन गर्ने पुरुष शिक्षकहरु स्कर्ट लगाएर स्कुल जान थालेका छन् । विशेष गरी महिलाहरुले लगाउने यो पोसाक लगाएर पुरुष शिक्षकहरु स्कुल आउनुको पछाडि खास कारण छ । स्पेनमा एक छात्रलाई स्कर्ट लगाएका कारण स्कुलबाट निकालिएको थियो । त्यसपछि त्यहाँ पुरुषहरुले स्कर्ट लगाउने आन्दोलन सुरु भएको हो । यो आन्दोलनलाई ‘कपडाको कुनै लिंग हुँदैन’ नाम दिइएको छ । र, स्कुलबाट निकालिएका तिनै छात्रको समर्थनमा शिक्षकहरु स्कर्ट लगाएर स्कुल जान थालेका हुन् ।
हालै ३७ वर्षका शिक्षक म्यानुअल ओर्टेगा र ३६ वर्षका शिक्षक बोर्जा भेलाज्क्वेज पनि यो आन्दोलनमा सहभागी भएका छन् । म्यानुएल र बोर्जाले पढाउने स्कुलमा पनि एक छात्रले स्कर्ट लगाएपछि उनलाई स्कुलमा मानसिक रुपमा सताइएको थियो । रुढीवादी लैंगिक मापदण्डसँग लड्नको लागि यी शिक्षक कक्षामा स्कर्ट लगाउँछन् । यी दुई शिक्षक भालाडोलिडको एक स्कुलमा पढाउँछन् ।
म्यानुअल र बोर्जा विगत १ महिनादेखि नियमित रुपमा स्कुल जाँदा स्कर्ट लगाएर जान्छन् । एल पेससँग कुरा गर्दै म्यानुअलले स्कर्ट लगाएर सामाजिक संजालमा सस्तो लोकप्रियता पाउने वा भाइरल हुने आफ्नो मन नभएको बताए । उनले यो कदममार्फत आफूले समाजमा सहिष्णुता बढाउन चाहेको बताए । उनले अरुलाई पनि यो अभियानमा जोडिन अपिल गरे । यो अभियान २७ अक्टोबरमा सुरु भएको थियो ।
त्यतिबेला स्पेनको बिलबाओ सहरमा मिकेल गोमेज नामका एक विद्यार्थीलाई स्कुलमा स्कर्ट लगाएको भन्दै बर्खास्त गरिएको थियो । मिकेलको मानसिक अवस्था ठिक नभएको आरोप समेत लगाइएको थियो । यसपछि गोमेजले एउटा भिडियो बनाएका थिए ।र भिडियोमा उनले आफूले स्कर्ट लगाएर फेमिनिज्म र अनेकताको समर्थन गर्न चाहेको बताएका थिए । मिकेलको यो भिडियो भाइरल भयो त्यसपछि कैयौं पुरुष शिक्षक र विद्यार्थी स्कुलमा स्कर्ट लगाउन थालेका छन् ।







डिसी नेपाल








Facebook Comment