दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा कटौती गर्ने ट्रम्पको घोषणा: किम जोङ उनसँग ‘राम्रो सम्बन्ध’ रहेको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासमा ‘व्यापक कटौती’ गर्ने बताएका छन्।
उनले यसको मुख्य कारण उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो ‘निकै राम्रो सम्बन्ध’ रहेको उल्लेख गरेका छन्।
आइतबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै उनले दक्षिण कोरियाले हालै इरानको ‘परमाणु निशस्त्रीकरण’ अभियानमा अमेरिकालाई साथ दिन अस्वीकार गरेको समेत खुलासा गरेका छन्।
ट्रम्पले लेखेका छन्, ‘यी सैन्य अभ्यासहरू महँगा त छँदै छन्- जसको ठूलो भार सधैँझैँ अमेरिकाले नै उठाउनुपर्छ— साथै यसबाट जाने सन्देश पनि पूर्ण रूपमा अनुचित र शत्रुतापूर्ण हुन्छ।’
यता दक्षिण कोरियाले भने अमेरिकासँग हुने सैन्य अभ्यास ‘पूर्वनिर्धारित तालिकाअनुसार नै जारी रहने’ स्पष्ट पारेको छ। उत्तर कोरियाले भने यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
उत्तर कोरियाले यसै महिना संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्धित ब्यालिस्टिक मिसाइलहरूको परीक्षण गरेलगत्तै यो पछिल्लो घटनाक्रम बाहिर आएको हो।
ट्रम्पले आइतबारको आफ्नो पोस्टमा अबको अभ्यास रद्द गर्न ‘निकै ढिला भइसकेको’ बताएका छन्; किनभने अमेरिका र दक्षिण कोरिया सोमबारदेखि नै आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गर्दै छन्।
उनले अगाडि लेखेका छन्, ‘मैंने हालै दक्षिण कोरियाका राष्ट्रपतिलाई सोधेको थिएँ— के उहाँहरू इस्लामिक रिपब्लिक अफ इरानको परमाणु निशस्त्रीकरणमा हामीसँग सामेल हुन चाहनुहुन्छ? उहाँले भन्नुभयो, ‘अहँ, धन्यवाद!’
ट्रम्पको यो बयान उनी र किम जोङ उनबिच सन् २०१९ मा खिचिएको एउटा पुरानो तस्बिर पोस्ट गरेको २४ घण्टा नबित्दै आएको हो। तस्बिर सेयर गर्दै ट्रम्पले दुवै जना ‘निकै राम्रा साथी’ भएको लेखेका थिए, यद्यपि उक्त तस्बिरमा दुवैका अनुहारका भाव भने त्यति मैत्रीपूर्ण देखिँदैनथे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment