फरारीको पहिलो विद्युतीय कार लिलामीमा ६ अर्ब रुपैयाँमा बिक्री: नयाँ कारका लागि अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान
काठमाडौं । फरारीको पहिलो पूर्ण रूपमा विद्युतीय कार एउटा परोपकारी लिलामीमा ४ करोड अमेरिकी डलर (करिब ६ अर्ब ९ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ।
यससँगै लिलामीमा बिक्री हुने कुनै पनि नयाँ कारका लागि यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्यको नयाँ विश्व कीर्तिमान बनेको छ।
अमेरिकाको क्यालिफोर्नियामा भएको उक्त लिलामीमा ‘फरारी लुचे’ नामको यो कार यसको सामान्य मूल्यभन्दा ३५ गुणाभन्दा बढी मूल्यमा बिक्री भएको हो। लिलामी गृहका अनुसार यो कार “पहिलो प्रोडक्सन च्यासिस” हो र यसमा विशेष फिनिसिङका साथै कैयौँ कस्टमाइज्ड पाटपुर्जाहरू जडान गरिएको छ।
लुचेलाई आइफोनका पूर्वडिजाइनर सर जोनी आइभको सोच (डिजाइन) मानिन्छ। गत मे महिनामा सार्वजनिक (लन्च) गरिएपछि केही मानिसहरूले यसको आलोचना गरेका थिए।
उनीहरूको भनाइमा यो कार फरारीको परम्परागत डिजाइनभन्दा पूर्ण रूपमा फरक छ। केही मानिसहरूले ब्याट्रीबाट चल्ने र पाँच सिट क्षमताको कार बनाउनाले ब्रान्डको मौलिक पहिचान नै गुमेको टिप्पणीसमेत गरेका थिए।
आयोजकहरूका अनुसार यो बिक्रीबाट प्राप्त सम्पूर्ण रकम फरारी फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूका लागि दान गरिनेछ।
यो विशेष कस्टम लुचे कार किन्ने व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन। बीबीसीले थप जानकारीका लागि लिलामी गृह र फरारीसँग सम्पर्क गरेको छ।
लुचेको सार्वजनिककरणलाई हालैका वर्षहरूमा कुनै पनि नयाँ कारको सबैभन्दा ठूलो ‘लन्च’ मानिएको थियो।
तर, लुचे सार्वजनिक भएको भोलिपल्टै फरारीको सेयर मूल्यमा गिरावट आएको थियो। कारलाई लिएर भएको आलोचनापछि सेयर मूल्य घटेको थियो।
कारको आलोचना गर्नेहरूमा इटालीका उपप्रधानमन्त्री मातेओ साल्भिनी र फरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलो पनि थिए। मोन्टेजेमोलोले यो कारले “एउटा महान् इतिहास (किंवदन्ती) लाई अन्त्य गर्ने जोखिम उठाएको” बताएका थिए।
फरारीका मुख्य डिजाइन अधिकारी फ्लावियो मान्जोनीले मे महिनामा दिएको एक अन्तर्वार्तामा आलोचना नवप्रवर्तन (इन्नोभेसन) को प्रक्रियाको एउटा हिस्सा भएको र मानिसहरूले बिस्तारै लुचेलाई मन पराउन थाल्नेमा आफू विश्वस्त रहेको बताएका थिए।
कम्पनीले लुचेको बिक्री लक्ष्यबारे आधिकारिक रूपमा केही खुलाएको छैन। तर, फाइनान्सियल टाइम्सको एउटा रिपोर्टअनुसार चीनमा बलियो मागका कारण फरारीले यस वर्षको आफ्नो बिक्री लक्ष्य हासिल गरिसकेको छ।
बीबीसीले फाइनान्सियल टाइम्सको उक्त रिपोर्टबारे प्रतिक्रिया माग्न फरारीसँग सम्पर्क गरे पनि कम्पनीले कुनै जवाफ दिएन।
लिलामीकर्ताले एक विज्ञप्ति जारी गर्दै लिलामीमा बेचिएको यो कार लुचेको पहिलो प्रोडक्सन कार खरिद गर्ने “अद्वितीय अवसर” रहेको बताएका छन्।
यस कारमा विशेष पाङ्ग्रा (ह्विल), कस्टमाइज्ड ब्रेक र सेतो रङको फिनिसिङ रहेको छ। फरारीका कारहरूले अक्सर लिलामीमा सबैभन्दा उच्च मूल्य प्राप्त गर्ने गर्छन्।
यद्यपि, लिलामीमा हालसम्मकै सबैभन्दा बढी मूल्यमा बिक्री भएको ऐतिहासिक कीर्तिमान भने सन् १९५५ मा बनेको ‘मर्सिडिज-बेन्ज ३०० एसएलआर उलेनहाउट कुपे’ को नाममा छ। यो कार सन् २०२२ मा १४.२ करोड अमेरिकी डलरमा बिक्री भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment