नेपाली युवाको उजुरीपछि चर्चित भारतीय पर्यावरण अभियन्ता लिकीप्रिया कंगुजामका पिता गिरफ्तार

डिसी नेपाल
१९ जेठ २०७८ १०:४७
3.4k
Shares

काठमाडौं। भारतकी ८ वर्षकी चर्चित पर्यावरण अभियन्ता लिकिप्रिया कंगुजामका पिता कनरजीत कंगुजाम पक्राउ परेका छन् । टाइम्स अफ इण्डियाका अनुसार दिल्ली पुलिसको स्पेसन सेल र मनिपुर पुलिसको संयुक्त अपरेसनपछि डा. केके सिंह भनेर चिनिने कनरजीत पक्राउ परेका हुन् । कंगुजामले आफूलाई युवा अभियन्ता बताउने गर्छन् । उनलाई दिल्लीको सफदरजंगबाट सोमबार बिहान पक्राउ गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मनिपुरको पूर्वी इम्फालका चिफ ज्युडिसियल मजिस्ट्रेटले फरार घोषित गरेका गंगुजाम २०१६ मा पक्राउ परेर धरौटीमा रिहा भएपछि मनिपुर छाडेर भागेका थिए । उनीमाथि ठगीको आरोप लगाइएको थियो । उनीमाथि २०१४ मा मनिपुरमा आयोजना हुने भनिएको विश्वव्यापी युवा सम्मेलनको लागि भन्दै विभिन्न संस्था, होटल र व्यक्तिहरुबाट १९ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको थियो ।

उनले आफूलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को निर्देशक तथा कार्यवाहक प्रमुख भएको समेत बताएर राज्य र कूटनीतिज्ञलाई समेत झुक्याएका थिए । युनेस्कोले पछि आफ्नो कंगुजामको संगठनसँग कुनै सम्बन्ध नभएको प्रस्ट पारेको थियो । स्मरणीय छ गंगुजमकी छोरी निकिप्रिया भारतकी चर्चित पर्यावरण अभियन्ता हुन् जसले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान समेत अस्वीकार गरेर ठूलो चर्चा बटुलेकी थिइन् ।

उनलाई अहिले एक नेपाली युवाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो । ती नेपाली युवाले काठमाडौंस्थित भारतीय दूतावासलाई पत्र लेख्दै कंगुजामले आफूलाई युरोप युथ एक्सचेन्ज कार्यक्रमको नाममा ३० हजार रुपैयाँ ठगी गरेको बताएका थिए । ती नेपाली युवाको पहिचान भने खुलाइएको छैन ।

आफैंले स्थापना गरेको संस्था इन्टरनेशनल युथ कमिटीको अध्यक्षको रुपमा कंगुजामले ‘युवा र युवाले नेतृत्व गरेका संस्थाहरुबीच प्रभावकारी साझेदारीको लागि सहजीकरण गर्न’ भन्दै कैयौं भारत तथा अन्य देशका विद्यार्थीहरुसँग पैसा लिएका थिए । २०१८ र २०१९ मा आयोजना हुने विभिन्न युथ एक्सचेन्ज कार्यक्रमको शुल्क भन्दै उनले करिब ३ करोड रुपैयाँ लिएका थिए तर ती कार्यक्रम कहिल्यै आयोजना भएनन् ।

यही ठगीका सम्बन्धमा नेपाली युवाले उजुरी हालेका थिए । नेपाली युवाले दूतावासमा गरेको उजुरीका आधारमा पूर्वी इम्फालको पोरोम्पात पुलिस स्टेशनमा गएको अप्रिलमा एफआइआर दर्ता गरिएको थियो र त्यसैका आधारमा सोमबार कंगुजामलाई पक्राउ गरी दिल्लीको अदालतमा उपस्थित गराइएको छ ।

‘हामीले अबेर राती उनको घरमा छापा मारेर उनलाई पक्राउ गरेका छौं । हामीले मनिपुर पुलिसलाई सहयोग गरिरहेका छौं जसले यो केसको अनुसन्धान गरिरहनुभएको छ । उहाँहरुले उनलाई मनिपुर लिएर जानुहुनेछ’ दिल्ली पुलिसको स्पेसल सेलका डिसीपी संजीव यादवले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.